बझाङ जयपृथ्वी नगरपालिकामा काँग्रेस विजयी

बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा नगरप्रमुखमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चेतराज बजाल विजयी भएका छन् ।

उनी ४ हजार ९ सय ७० मतका साथ मेयरमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर सिंहले ३ हजार ४ सय ९९ मत पाए । मेयरमा विजयी बजाल अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

यसपालि भने बजाल एमालेका मेयर प्रत्यासीभन्दा १ हजार ४ सय ७१ बढी मत ल्याउँदै विजयी भए । त्यस्तै, राप्रपाका मेयर उम्मेदवार कर्णबहादुर खड्काले ४३ मत पाए । नगर उपप्रमुखमा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका रतन सिंह ४ हजार ६२७ मतका साथ उपमेयरमा विजयी भएका हुन् । उनकी निटकतम प्रतिद्वन्द्वी एमालेकी जमुना चन्दले ३ हजार ३ सय ९१ मत ल्याइन् ।

जयपृथ्वी नगरपालिकाको ११ वटा वडामध्ये तीनमा एमाले दुई–दुईमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । जयपृथ्वीको २ वडामा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भए । एमालेबाट जयपृथ्वी–२ मा कलक खड्का, वडा नं. ८ मा लोकेन्द्र बोहरा र वडा नं. ११ मा सर्जन थापा विजयी भए । कांग्रेसबाट जयपृथ्वी–४ मा ईश्वर खाती र वडा नं. १० मा पुष्पबहादुर सिंह तथा माओवादी केन्द्रबाट वडा नं. ६ मा नरेन्द्रबहादुर सिंह र वडा नं।.७ मा शिवराज जोशी विजयी भए ।

त्यस्तै, समाजवादीबाट वडा नम्बर ३ मा गंग खड्का र ९ मा गोपाल खड्का विजयी भएका छन् । वडा नं १ मा डम्बरबहादुर सिंह र वडा नं. ५ मा प्रेम थापा भने स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.