फरक–फरक पार्टीबाट वडा सदस्यमा श्रीमान–श्रीमती निर्वाचित
अत्तरिया : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ मा वडा सदस्य पदमा श्रीमान–श्रीमती विजयी भएका छन् । विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय सदस्य पदमा निर्वाचित भएका हुन् । श्रीमान– श्रीमती दुवै जनाले फरक–फरक पार्टीबाट चुनाव लडेर विजयी भएका छन ।
सन्दीप नेकपा (एमाले) बाट र कमला नेपाली कांग्रेसबाट वडा सदस्य पदमा चुनाव लडेका थिए । सन्दीपले खुला सदस्यबाट चुनाव लडेर ७५५ र कमलाले महिला सदस्य पदबाट चुनाव लडेर ७९२ मत ल्याई विजयी भएका छन ।
पार्टीबारे घरमा बहस हुने गरेपनि पारिवारीक कटुता नभएको उनीहरूले बताए । दुवै जनाले जनताको सेवक बनेर कार्य गर्ने बताएका छन । दुवै जना दोधारा चाँदनीमा सामाजिक अभियन्ताका रुपमा समेत परिचित रहेका छन् ।