स्थानीय सरकारमा आजदेखि नयाँ प्रतिनिधि
काठमाडौंः स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आज शुक्रबार शुरु हुँदै छ। ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएपछि नयाँ निर्वाचित प्रपतनिधिहरुको कार्यकाल आजबाट शुरु भएको हो।
निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार शुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।
जेठ ५ लाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर वैशाख ३० मै निर्वाचन गरिएको थियो। तर सय बढी स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी रहेकाले जनप्रतिनिधिले कार्यकाल सम्हाल्न पाएका छैनन्।
शुक्रबार बिहानसम्म साडे ६ बजेसम्म ६२७ पालिकाको अन्तिम परिणाम आएको छ । परिणाम आएका क्षेत्रमा जनप्रतिनिधिले पदभार सम्हाल्ने निर्वाचन आयोगले जनाएको छ।
वैशाख ३० यता निर्वाचन भएको पालिकामा पनि चार दिनभित्र मत गणना सम्पन्न गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिका अध्यक्ष, नगर प्रमुखले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने हुन्छ ।
अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाध्यक्ष, गाउँ तथा नगरसभाका सदस्यले शपथ लिनुपर्ने कानुनी व्यवस्था छ । आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई परिपत्र गर्दै कानुनअनुसार पद तथा गोपनीयताको शपथ गराउन आग्रह गरेको छ।