डडेल्धुरामा आलु खेतीमा सफल कर्मचारीलाई नागरिक अभिनन्दन

अत्तरिया : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई डडेल्धुराका कार्यालय प्रमुख खेमराज जोशीलाई अभिनन्दन गरिएको छ । डडेल्धुुराका किसानहरूले आइतबार विगत ५ वर्षदेखि आलु सुपर जोनको क्षेत्रमा काम गर्दै आएका वरिष्ठ कृषि अधिकृत जोशीलाई ३० किलोको माला, अविर, बाजागाजासहित जिल्ला सदरमुकामको बागबजार परिक्रमा गराइ अभिनन्दन गरेका हुन् ।कृषि क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै डडेल्धुराका किसानहरूले जोशीलाई सम्मान कार्यक्रमको आयोजनामार्फत अभिनन्दन गरेका हुन् ।
आलु सुपरजोन कार्यक्रम मार्फत् प्रविधि प्रदर्शन, मल्चिङ प्रविधिबाट आलुखेती सुरु, व्यवसायिक आलु खेतीमा किसानहरूलाई अभिप्रेरित गर्नुका साथै आलु खेतीका रूपमा जिल्लाको अमरगढी– १ भेटा, गन्यापधुरा गाउँपालिका–१ भातकाडा, अजयमेरु गाउँपालिकाका विभिन्न वडाहरू लगायत नवदुर्गा गाउँपालिकामा समेत बृहत् आलु खेतीतर्फ किसानहरू व्यवसायिक बनेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका – १ को ठूलखालीमा करिब ८० रोपनी क्षेत्रफलमा व्यवसायिक रूपमा करिब १ सय ५० क्विन्टलभन्दा बढी आलु वर्षेनी उत्पादन हुने गरेको किसान दत्तराज अवस्थीले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन डडेल्धुराका प्रमुख जोशीका अनुसार चालु वर्षमा आलु खेती गर्ने किसानहरूको संख्या विगतभन्दा तेब्बरले वृद्धि भएको छ । डडेल्धुराबाट बिदाई भएसँगै जोशी अध्ययनका लागि दुई वर्ष अष्ट्रेलिया जाने कार्यक्रम तय भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.