आयोगले निर्णय नदिँदा बाजुरामा न पुनःनिर्वाचन न मतगणना
बाजुरा : सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा ३० वैशाखको स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । प्रदेशका ९ जिल्लका ८८ स्थानीय तहमध्ये ८६ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अछामको साँफेबगर नगरपालिकाको मतणना जारी छ । तर छिमेकी बाजुराको बूढीगंगा नगरपालिकामा ३० वैशाखमा मतदानका क्रममा भएको विवादका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीच उत्पन्न विवादपछि साता बितिसक्दा पनि बूढीगंगा नगरपालिकामा मतगणना हुन सकेको छैन ।
निर्वाचन आयोगले निर्णय नदिँदा बूढीगंगाको निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको बाजुराका मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरे बताउँछन् । ‘पुनःमतदान वा मतगणना के गर्ने भनेर आयोगले निर्णय गरेको छैन,’ उनले नेपालखबरसँग भने, ‘हामी पनि निर्वाचन आयोगको निर्णय कुरेर बसेका छौँ ।’ मतदानको दिन वैशाख ३० गते बूढीगंगामा झडप भएको थियो । निर्वाचन बूढीगंगामा खटाइएका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटा आयोगमै फर्किएका छन् ।
वडा नम्बर २, ३, ५ र ९ मा झडप हुँदा असुरक्षित महसुस भएकोले निर्वाचन अघि बढाउन नसक्ने भन्दै सापकोटा आयोगमै फर्किएका थिए । यी वडामा नेकपा एमालेका नेता–कार्यकर्ताले बुथ कब्जा गरेकाले मतदान प्रक्रिया पुनःसञ्चालन गर्नुपर्ने कांग्रेसको माग छ । तर, एमालेका उम्मेवार र नेताहरुले भने नगरपालिकाका कुनै वडामा धाँधली र बुथ कब्जा नभएकाले मतगणना सुरु हुनुपर्ने अडान लिएका छन् ।
बूढीगंगामा विवादपछि निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा आयोगको अनुगमन टोली बाजुरा पुगेको थियो । अनुगमनमा टोली जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीबाट सुझाव संकलन गरेर फर्किएको थियो ।