कञ्चनपुरको भीमदत्त दशकपछि फर्कियो कांग्रेसको सत्ता

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले बहुमत वडासहित मेयर–उपमेयर जितेको छ । नेकपा एमालेले भीमदत्त नगरपालिकामा वि.सं. २०७४ सालयताको विरासत गुमाएको छ । त्यसबेला १० वडासहित मेयर जितेको एमाले यसपटक ३ वडामा खुम्चिएको छ ।
१९ वडामध्ये भीमदत्तमा कांग्रेसले १३ वडा सहित मेयर र उपमेयर दुवैमा जित हासिल गरेको छ । जबकी ०७४ मा कांग्रेसले ७ वडा र उपमेयर जितेको थियो ।
यसपटकको जितले कांग्रेस भीमदत्तमा तीन दशक पछि बलियो उपस्थिती सहित नेतृत्वमा पुगेको छ । वि.सं. २०४९ सालमा तत्कालीन महेन्द्रनगरमा बाजी मारेको कांग्रेस त्यसपछि पहिलो पटक बहुमत सहित भीमदत्तको सत्ता पुगेको हो ।
‘२०४९ मा जितेका थियौँ, त्यसपछि ०५४ र ७४ को चुनाव हार्यौँ,’ नेपाली कांग्रेस कञ्चनपुरका सचिव हेमराज ओझाले भने, ‘०४९ पछि बहुमत जितेको पहिलो पटक नै हो ।’ संघीयतापछि पहिलो पटक भएको स्थानीय तह निर्वाचनमा कांग्रेस एमालेसँग पराजित भएको थियो । त्यसबेला २ वडा जितेको माओवादीले यसपटक पनि त्यति नै जितेको छ । यस्तै, एक वडामा कांग्रेसबाट टिकट नपाउँदा ‘विद्रोह’ गरेर स्वतन्त्र लडेका उम्मेदवार पनि विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखकले जित निकालेका छन् ।
मेयरमा विजयी भएका बोगटीले १५ हजार ८८२ मत ल्याएका छन । उनका प्रतिस्पर्धी एमालेका महेशप्रसाद पन्तले ८ हजार १७९ मत प्राप्त गरे । यस्तै, राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १०५ मत ल्याएका छन् । माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४५२ मत ल्याएका छन् ।
मेयरमा बोगटीले प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतान्तर ७ हजार ७०३ ले विजयी भएका हुन । बोगटी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेकै सुरेन्द्र विष्टसँग १६६ मतले पराजित भएका थिए । उपमेयरमा कांग्रेसकी निलम लेखक १२ हजार २१६ मत सहित विजयी भइन् । उनका प्रतिस्पर्धी माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरका उम्मेदवार माओवादीका कृष्णदत्त जोशीले १० हजार ५९६ मत ल्याए ।
यस्तै एमालेकी भुवन कुवँरले ७ हजार ९९० र राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७७२ मत प्राप्त गरिन् । निर्वाचित बोगटीले विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । वि.सं.२०३६ सालमा कक्षा १० मा पढ्दा उनी नेपाल विद्यार्थी संघमा आबद्ध भए । वि.सं. २०४० सालमा विद्यार्थीका आन्दोलनका क्रममा पनि पटक पटक पक्राउ परे । वि.सं. २०४५ सालमा नेपाल विद्यार्थी संघको ५ औँ महाधिवेशनका लागि उनी प्रतिनिधि निर्वाचित भए ।
त्यसपछि बोगटीले वि.सं. २०४६ सालको जनआन्दोलनमा नेपाल विद्यार्थी संघको महाकाली अञ्चलको नेतृत्व सम्हालेका थिए । बोगटी वि.सं. २०४७ सालमा नेवि संघ कञ्चनपुरको जिल्ला उपसभापतिमा निर्वाचित भएका थिए ।
वि.सं. २०५० सालमा नेविसंघको ६ औँ महाधिवेशनमा निर्विरोध केन्द्रिय सदस्य चयन भएका उनी कांग्रेसको ११ औँ महाधिवेशनमा जिल्ला सदस्य भए । त्यसपछि कांग्रेसको जिल्ला सह–सचिवको जिम्मेवारी सम्हाले, बोगटीले । करिब १५ वर्ष कांग्रेस कञ्चनपुरको सचिव भएर काम गरेका उनी २०६२÷०६३ सालको जनआन्दोलनमा समेत सहभागी भए । लामो समय राजनीतिमा बिताएका बोगटी वि.सं. २०६४ सालमा महेन्द्रनगर नगर विकासको अध्यक्ष भएका थिए । उनी अहिले नेपाली कांग्रेस कञ्चनपुरको सभापति पनि छन् ।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट भीमदत्त नगरपालिकाको मेयरको उम्मेदवार बने । तर, एमालेका सुरेन्द्र विष्टसँग १६६ मतले पराजित भएका थिए । त्यसबेला विष्टले ११ हजार ८३१ र बोगटीले ११ हजार ६६५ मत ल्याएका थिए ।
०७४ सालमा झिनो मतान्तरले चुकेका उनै बोगटी दोस्रो प्रयासमा भारी मतान्तरका साथ विजयी भएर भीमदत्तको मेयरमा बन्न सफल भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.