उपमेयर डंगोलको पहिलो निर्णय : हिंसापीडित महिलाको संरक्षणमा ‘महिला सेल’ निर्माण

काठमाडौँ : महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरेलगत्तै चुनावी प्रतिवद्धता कार्यान्वयन थालेकी छन्। उनले पदबहालीपछि आफ्नो प्रतिवद्धताअनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाका लागि तालिम दिन महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन्।
सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने छ।

उनको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ। ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उनले भनिन्। त्यसैगरी उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छन्।

उनले मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताइन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरुको निरुपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितिले सूचीकृत गरेका मेलमिलापकर्ता बाट गराउनु पर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रिया अनुसार अघि बढ्ने पनि उनले बताइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.