चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु, डडेलधुरा अस्पताल तनावग्रस्त

डडेल्धुरा : डडेलधुरा अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक बाललिकाको मृत्यु भएको भन्दै मृतकका आफन्तले विरोध गर्दा अस्पताल तनाग्रस्त बनेको छ । डडेलधुराको भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापा मगरको आज बिहीबार बिहान ७ बजेतिर आइसियुमा राखिएको अवस्थामै मृत्यु भएको हो । निमोनियाको आशंका गरी बिहीबार बिहानै ५ बजेतिर अस्पताल पुर्याइएकी यमुनालाई दुई घण्टासम्म पनि जाँचका लागि चिकित्सक आएनन्। दुई घण्टासम्म पनि चिकित्सक नआएपछि बालिकाका आफन्तले अस्पताल व्यवस्थापन समितिका अध्यक्षदेखि प्रमुख जिल्ला अधिकारीसम्म गुहारेका थिए ।

चिकित्सकले समयमा बिरामी बालिकाको जाँच नगरेका कारण मृत्यु भएको भन्दै बालिकाका आफन्तले शव उठाउन मानेका छैनन् । उनीहरूले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र मेडिकल सुपरिटेन्डेन्टको सरुवा गर्नुपर्ने मागसमेत गरेका छन् । अस्पतालमा चिकित्सक हुँदाहुँदै पनि बालिकाको अवस्था जाँचका लागि नआएको मृतकका आफन्त राजेन्द्र थापाले बताए ।

अस्पतालका मेसु चेतनराज भट्टले भने श्वास फेर्न गाह्रो भएपछि अस्पताल पु¥याइएकी यमुनालाई आईसियुमा राखिएको बताउँदै भने, ‘दुई–तीन दिनदेखि उच्च ज्वरोसहित निमोनिया भएको रहेछ । हिजो राति १२ बजेतिर श्वास फेर्न गाह्रो भएपछि बिहानै अस्पताल ल्याएका थिए । उच्च ज्वरो देखेपछि आईसियूमा राखेका थियौँ । त्यहीँ उनको मृत्यु भयो ।’ मेसु भट्टले भने।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.