सुदूरपश्चिम प्रदेश सभाको बैठकमा  प्रतिपक्षीको कुर्सी खाली

धनगढी,२५ जेठ : सरकारलाई सदनबाट खबरदारी गर्ने दायित्व प्रतिपक्षको रहेको पनि बुधबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा प्रतिपक्षी दलको उपस्थिति देखिएन । प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रतिपक्षको कुर्सी भने खाली रहेको थियो । सत्ता पक्षका धेरै प्रदेश सभा सदस्यहरुको उपस्थिति देखिएको बेला प्रतिपक्षको बेन्चमा भने जनता समाजवादी दलबाट प्रतिनिधित्व गर्ने मालामति राना थारुमात्रै एक्लै बसेकी थिइन् ।

सुदूरपश्चिममा नेकपा (एमाले) का १०, राजपा र लोकतान्त्रिक समाजवादी पार्टीका एक÷एक गरी १२ जना प्रदेश सभा सदस्य प्रतिपक्षीको भूमिकामा छन् । तर, प्रदेश सभाको बैठकमा राना एक्लैको मात्रै उपस्थिति रहेको थियो ।

उनले सदन सत्तापक्ष र प्रतिपक्षको उपस्थितिमा चल्ने गरे पनि सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीको अनुपस्थिति हुनु आश्चर्यको विषय रहेको बताइन् । ‘प्रतिपक्षी हुनु अपराध र दोष त पक्कै होइन’, ठट्टा गर्दैै उनले भनिन् । ‘सरकारलाई खबरदारी गर्ने काम प्रतिपक्षीको हो । तर, यहाँ म एक्लैमात्रै प्रतिपक्षी छु । कहिलेकाँही त यस्तो लाग्छ । म पनि कति बेला सरकारमा जाउँ र डल्लपका डल्लप बजेट आफ्नो क्षेत्र, समुदायका लागि लैजाउँ ।’ उनले सरकारले युग सुहाउँदो विकासका लागि नीति तथा कार्यक्रम ल्याउन नसकेको बताइन् । सभामुखले बोल्ने समय सकिएको जानकारी जनाउ दिएपछि फेरि ठट्टा गर्दै उनले थपिन–‘प्रतिपक्षबाट म एक्लै उपस्थित छुँ तर संख्या १२ हो । ११ जनाको नाममा एक÷एक मिनेटमात्रै पाए पनि कम्तीमा अझै ११ मिनेट मैले बोल्न पाउनु पर्छ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.