धनगढी : कैलालीको धनगढी उप–महानगरपालिले १९ वटै वडामा निःशुल्क स्वास्थ्य दिने भएको छ । आउने आर्थिक बर्षको साउनबाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा सुरु गर्ने भएको हो । सुदूरपश्चिमकै एक मात्र उप–महानगरपालिका धनगढीका दुरदराजका स्थानीयहरुले अझै प्रभावकारी रुपमा स्वास्थ्य सेवा नपाएको भन्दै उप–महानगरपालिकाले विशेषज्ञ सहितको स्वास्थ्य सेवा वडा÷वडामा सुरु गर्न लागेको हो । उप–महानगरपालिकाले विभिन्न दाताहरुको सहयोग तथा आफ्नै आन्तरिक श्रोतबाट यन्त्र उपकरण तथा जनशक्ति व्यवस्थापन गरी विशेषज्ञ सेवा सुरु गर्न लागेको जनाएको छ । उपमहानगरपालिका १९ वटै वडामा एक दिन एक वडा गरी निःशुल्क स्वास्थ्य सेवा सुरु गर्न लागेको छ ।
यस्तै धनगढी उप–महानगरपालिकाले थालेको उक्त अभियानमा धनगढी शाखा भएको भाटभटेनी सुपरमार्केटले विशेषज्ञ सेवाको प्रवन्ध गर्ने भएको छ । फिजिसियन र महिला रोग विशेषज्ञको मासिक तलब र भत्ता पाँच वर्षसम्म भाटभटेनी सुपरमार्केटले बेहोर्ने बुधबार धनगढी उप– महानगरपालिका र भाटभटेनी सुपरमार्केट बीच सम्झौता भएको छ । बुधबार नै उक्त सम्झौता पत्रमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्ग र धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल हस्ताक्ष गरेका छन् ।
आफुहरुले पहिले देखिनै सुदूरपश्चिमका विपन्न वर्गका नागरिकलाई स्वास्थ्य सेवामा सहयोग गर्दै आएको र धनगढी नगरपालिका क्षेत्रका नागरिकलाई समेत सेवा गर्न पाउदा खुशी लागेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गले बताए । धनगढी उप–महानगरपालिका क्षेत्रका दुरदराजको जनताले अहिले पनि राम्रो स्वास्थ्य सेवा पाउन नसकेको अवस्था रहेको उल्लेख गर्दै नगर प्रमुख हमालको पहलमा सुरु भएको वडा÷वडामा विशेषज्ञ सहितको निःशूल्क स्वास्थ्य सेवा कार्यक्रम मार्फत अतिन्यून आए भएकाहरुले समेत घर आगनै सेवाको मौका पाउने धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले बताए ।
यस्तै यो सेवा सुरु भएपछी कुनै पनि नागरिक पैसाको अभावमा सामान्य उपचार गर्नबाट बञ्चित हुन नपर्ने नगर प्रमुख गोपाल हमालले बताए ।