सुदूरपश्चिममा सुरु भयो मतदाता नामावली संकलनको काम

अत्तरिया : स्थानीय तह निर्वाचनका सबै प्रक्रिया सकिएसँगै मतदाता नामावली संकलनको काम फेरि सुरु भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार असार १ गतेदेखि मतदाता नामावली संकलनको काम सुरु भएको हो।

निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्ने र मतदाता नामावली सार्नसक्ने जनाएको छ। नयाँ मतदाता दर्ताको क्रम प्रदेश र संघीय निर्वाचनको मिति घोषणा नहुँदासम्म चल्ने प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

यो अवधिमा मतदाताले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक वडाबाट अर्को वडामा बसाइँसराइको प्रमाणपत्रको आधारमा मतदाता नामावली सार्नसक्ने छन्। यस्तै एकै वडामा रहेका मतदाताले आफ्नो पायक पर्ने निर्वाचन केन्द्रमा मतदान स्थल कायम हुने गरी नाम सार्न निवेदन दिन सक्ने निमित्त प्रमुख भट्टले बताए।

निर्वाचन कार्यालयले यसअघि तयार भएका मतदाता परिचय पत्र वितरणको कामसमेत गरिने जनाएको छ। तयार भएका मतपत्र सम्बन्धित मतदातालाई वडा कार्यालयमार्फत वितरण गर्ने निमित्त प्रमुख भट्टले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.