काठमाण्डौँ : आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन हुँदै छ। संसद सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे उपसभामुख चुन्न मतदान गरिनेछ।
यसअघि हिजो बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गरिएको थियो। उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताका लागि संसद सचिवालयले बिहीबार दिउँसो ११ बजेदेखि १ बजेसम्मका लागि समय तोकेको थियो। उक्त समयमा दुई जनाको मात्रै उम्मेदवारी परेको संसद सचिवालयले जानकारी दिएको छ। अब आजको निर्वाचनले उपसभामुख चयन गर्नेछ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए। त्यसपछि सभामुख र उपसभामुख दुवै नेकपा माओवादी केन्द्रबाट भए। संविधानअनुसार एउटै दलबाट दुवै पद राख्न नमिल्ने भएकाले तुम्बाहाम्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्। उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल विजयी हुने निश्चित छ।