अत्तरिया : प्रतिपक्षी दलको असहमतिबीच सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी संशोधन गर्न बनेको विधेयक २०७९ पारित भएको छ।
बुधबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले सो ऐन हुन्छ भन्ने भन्दा हुन्न भन्नेको संख्या न्यून देखिएको भन्दै बहुमतले पारित भएको सभामा जानकारी दिए। आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा सो विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए। प्रदेश सभाका उपनेता, प्रमुख सचेतक, सचेतक, सदस्यलाई सुविधा थप गर्दा प्रदेश सरकारले आर्थिक भार बढाउने भन्दै प्रतिपक्षी दलहरुले सो विधेयकमाथि असहमति जनाएका थिए।
सुदूरपश्चिम प्रदेश सरकारले ऐनविपरीत मन्त्रिपरिषद्का निर्णयबाट प्रदेश सभा सदस्यहरुलाई उपलब्ध गराइएको उपचार खर्चलाई कानुनमै व्यवस्था गर्ने तयारी गरेको छ। प्रदेश सरकारले २०७५ सालमा जारी गरेको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा प्रदेश सभा सदस्यहरुलाई उपचार खर्च उपलब्ध गराउने कुनै व्यवस्था गरेको थिएन।
मन्त्रिपरिषद्का विभिन्न निर्णयले प्रदेश सभा सदस्य अम्बिकुमारी थापा, सार्वजनिक लेखा समिति सदस्य नन्दाकुमारी बम, प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, हर्कबहादुर कुँवर, देवकी मल्ल, तारा लामा तामाङ, उमाकुमारी बादी, डिल्लीराज पन्त लगायतलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ।
प्रदेश सरकारले २०७५ सालमा पारित गरेको विधेयकमा भनिएको छ –‘चिकित्सकले अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने भनी सिफारिस गरेको पदाधिकारी वा सदस्यले सरकारी वा सामुदायिक अस्पतालमा भर्ना भई औषधि उपचार गराएमा त्यसरी उपचार गराउँदा लागेको पिस्क्रिप्सन तथा बिलबमोजिम खर्च सचिवालयले व्यहोर्ने छ।’ अहिले संशोधनका लागि लगिएको सो विधेयकमा ‘प्रदेश सभा सदस्यहरुलाई सरकारी वा सामुदायिक बाहेकका अन्य अस्पतालमा लागेको उपचार खर्च प्रदेश सरकार ९मन्त्रिपरिषद्०को निर्णयबमोजिम उपलब्ध गराई दफा थप गरिएको छ।’
यसअघि विधेयकले सभामुख, उपसभामुख, विपक्षी दलको नेता, सत्ता पक्ष प्रमुख सचेतक र सभापतिलाई चालकसहितको सवारी साधन, इन्धन र मोविल उपलब्ध गराउने उल्लेख थियो। संशोधित विधेयकमा सत्तापक्ष संसदीय दलका नेता, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्ष संसदीय दलका प्रमुख सचेतकलाई चालकसहित सवारी साधन, इन्धन र मोविल उपलब्ध गराउने भनी व्यवस्था गरेको छ।