बाजुराको वाढी, तीन परिवार विस्थापित, गाउँ नै जोखिममा

बाजुरा : बाजुराको वडीमालिका नगरपालिका वडा नम्बर ९ सेलाघाटको सिङ्गो बस्ती बाढीका कारण जोखिममा परेको छ । शुक्रबार रातीको वर्षाका कारण स्थानीय बिउरा खहरे खोलामा आएको बाढीले सेलाघाट बस्ती नै जोखिममा परेको हो ।

सेलाघाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो । अहिलेसम्म बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् । बाढीले स्थानीय चन्दे थापा, अंग थापा र दिपक बिष्टको घरमा क्षति पुगेको छ । अन्य २० भन्दा बढी परिवार जोखिममा परेको स्थानीय निशान्त बडूवालले बताए।सेलाघाट बाजुरा जिल्ला सदरमुकाम मार्तडीसँगै रहेको वडा हो ।

बाढीले स्थानीय गोपाल थापाको कुखुरा फर्ममा क्षति पुगेको छ । फर्ममा रहेका १ सय ८० कुखुरा मध्ये १ सय ५० बढी मरेका छन् । सयौँ मुरी फल्ने खेतमा लगाएको धानबालीमा समेत क्षति पुगेको छ भने सिङ्गो खेत बगरमा परिणत भएको छ । बाढी राती करिब १ बजेतिर आएको हो । बाढी आएको थाहा पाएपछि स्थानीय राती नै घरबाट अन्यत्र सरेका थिए ।

खहरे खोलाको बाढीकै कारण साँफे मार्तडी सडक पनि अवरुद्ध भएको छ।बाउली खोलाको कटानले जोखिममा रहेको बस्ती बिउरा खोलाको बाढीका कारण थप जोखिममा परेको छ ।अहिले सबै परिवार सुरक्षित रहेको र अन्यत्र बासका लागि प्रबन्धक गर्नुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.