सेती प्रादेशिक अस्पताललाई २ सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

अत्तरिया : सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ । मंगलबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराका स्वकीय सचिव टेकराज पाण्डेयले जानकारी दिए ।
२ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। स्वकीय सचिव पाण्डेयका अनुसार ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ । प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसंगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका थिए ।
कैलालीका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न १९९७ सालमा धनगढीमा जिल्ला अस्पतालका रुपमा अस्पताल सञ्चालन गरिएको थियो। कैलाली जिल्ला अस्पताललाई २०४० सालमा सेती अञ्चल अस्पतालमा स्तरोन्नति गरिएको थियो ।

सो समयमा अस्पताललाई ५० शय्याको स्वीकृति दिइएको थियो । अस्पताल व्यवस्थापन समितिले ७५ शय्या थप गर्दै अस्पताललाई एक सय २५ शय्यामा सञ्चालन गरिएको थियो । प्रदेश सरकार गठन भएसँगै सेतीलाई प्रादेशिक अस्पताल नामाकरण गरिएको थियो तर सरकारी स्वीकृति भने ५० शय्याको मात्रै थियो भने थप ७५ शय्या आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको थियो । सामाजिक विकास मन्त्री बोहराको पहलमा ३९ वर्षपछि अस्पतालको स्तरोन्नति भएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.