अत्तरिया : नेपाली कांग्रेस डोटीका नेता तथा कार्यकर्ताहरु गठबन्धनको विरद्धमा उभिएकाछन् । पार्टीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको ‘जनताको साथमा कांग्रेस अभियान’ कार्यक्रममा सुझाव दिदै नेता तथा कार्यकर्ताहरुले जिल्लामा गठबन्धन नगर्न खबरदारी गरेका हुन् ।
कांग्रेसका भातृ, शुभेच्छुक संघ संगठन, पालिकाका सभापति तथा जिल्लाका नेताहरु मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने केन्द्रको निर्णय विरुद्ध उभिएका हुन् । डोटीमा ९० प्रतिसत मत कांग्रेससँग रहेको दाबी गर्दैे जिल्लामा कुनै पनि पार्टीसँग गठबन्धन गरेको अवस्थामा मत होल्ड गर्ने चेतावनी समेत दिएका छन् ।
जिल्लाको पार्टी नेतृत्व पनि गठबन्धन गरेर अन्य पार्टीलाई टिकेट दिएको स्वीकार गर्ने पक्षमा देखिदैन । स्थानीय नेताकार्यकर्ताहरु पनि कांग्रेसको चुनाव चिन्ह बाहेक अन्त भोट नहाल्ने जनाउदै आएका छन् ।
डोटीमा गठबन्धन गरेर चुनाव लडेको अवस्थामा कांग्रेसले ठुलो घाटा बेहोर्नुपर्ने पूर्वीचौकी गाउँपालिकाका सभापति बलबहादुर खड्काले बताए । नेवि संघका नेता राजेश ठगुन्नाले जिल्लामा गठबन्धन गरेर अन्य पार्टीको उमेदबारलाई भोट हाल्नुपर्ने अवस्था सृजना भयो भने कांग्रेसका मतदातालाई होल्ड गराउने चेतावनी दिए । डोटीमा गठबन्धन भए पनि नभए पनि तीन वटै सिटमा कांग्रेसले उमेदबार पाउनु पर्ने बताउँदै उनले भने,‘सत्ता साझेदार दलसंग जिल्लामा झिनो मत छ ।
तरुणदलका अध्यक्ष टेक रावलले कांग्रेसको अस्तित्व मेटिने गरेर गठबन्धन गर्न नहुने बताए । अन्यदलको तिव्र महत्वकांक्षा अनुसारको गठबन्धन स्वीकार्न नसकिने पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए ।
कांग्रेस केन्द्रीय सदस्य एवं अभियानका केन्द्रीय प्रतिनिधि नृप बहादुर वडले डोटीका जनता, मतदाता र नेताकार्यकर्ताहरुको मनोभावना अनुसार मात्र गठबन्धन हुने बताए । डोटी कांग्रेसका नेता, कार्यकर्ता र मतदाताले चाहेनन् भने जिल्लामा गठबन्धन नहुने बताउँदै उनले अहिले नै गठबन्धन हुन्छ भनेर नआत्तिन अनुरोध गरे ।