डडेल्धुरा प्रदेशसभामा काग्रेंसबाटै ४ को दावी

डडेल्धुरा, १३ भदौ : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको मिती नजिकिएसँगै चुनावी चर्चा र बहस चुलिएको छ । संघ र प्रदेशको निर्वाचनका लागी गठबन्धन त कोही गठबन्धन नगरी चुनावमा जाने रणनिती बनाइरहेका छन् । तर सत्ता गठबन्धनका दलहरू भित्रैपनी निर्वाचनमा गठबन्धनको मोडालिटीबारे अझै स्पष्ट योजना बनाउन सकिरहेका छैनन् ।
गठबन्धनका सबै दलले आआफ्नो दाबी पेस गरिरहेका छन् । गठबन्धनमा सीट बाँडफाँट गर्न सकस भएको छ । प्रत्यक्षतर्फको १६५ भन्दा बढी सीटमा दलहरुबाट दाबी प्रस्तुत भएपछि गठबन्धनमा सीट बाँडफाँट गर्न सकस भएको छ । बिशेष गरेर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सीट बाँड्न असहज भएको छ । देशभर चुनावी गठबन्धनको पक्षमा रहेका देउवाले सत्ता गठबन्धनलाई कसिलो बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । डडेल्धुराबाट ६ पटक २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालका सबै निर्वाचन जितेका देउवा यसपटक पनि डडेल्धुराबाट चुनाब जित्ने दाउमा लागेका छन् ।
प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा उनी सुरक्षित छन् । डडेल्धुरामा माओवादी केन्द्रले प्रदेशसभातर्फ दुइटै क्षेत्र दाबी गरेको छ । यसअघि लगातार तीन पटकसम्म देउवासँगै पराजित रहेका माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट यस पटक देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने दाउमा छन् । सुदूरपश्चिममा माओवादीका एक्ला स्थायी समिति सदस्य रहेका छन् उनी । भट्टले यसपटक पनि प्रतिनिधिसभामै दाबी गरेका हुन् । तर, देउवाले डडेल्धुरा नछोड्ने भएपछि उनी मुख्यमन्त्री बन्ने सर्तमा प्रदेशसभामा उठ्ने योजनामा रहेको बताइएको छ । माओवादी जिल्ला संयोजक उमेशप्रकाश भट्टले संघमा नभए दुइटै प्रदेश हामीले माग गरेको भएपनी कठिन अवस्था रहेको बताए ।
उनले त्यो असम्भव पनी नहुने बताए । खगराज भट्ट मुख्यमन्त्री बन्ने गरी कुनै एक प्रदेशबाट लड्न सक्ने उनले बताए । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सबैमा आफ्नो दाबी रहने स्पष्ट पारेको बताइएको छ । तर कांग्रेस नेता तथा कार्यकर्ताहरुले स्थानीय तह निर्वाचनमा जस्तै अहिले पनि गठबन्धन नगर्न सुझाब दिइरहेका छन् । कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले सबैको भावना कांग्रेस एक्लै लड्नुपर्ने उनको भनाई छ । उनले स्थानीय तहमा पनि कांग्रेस एक्लै लडेको बताउँदै जित्ने दाबी गरे ।
अहिले को अवस्थामा एक्लै लड्नुपर्ने धेरैको धारणा रहेको उनले भने । सो विषयमा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई पनि जानकारी गराएको उनले जानकारी दिए । डडेल्धुराका अधिकांश कांग्रेस नेता कार्यकर्ताहरूले प्रधानमन्त्री देउवालाई डडेल्धुरामा तालमेल गर्न नहुने सुझाव दिइरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.