अत्तरिया : नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सभा सदस्य तारा लामा तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।
प्रदेश कमिटी उपसचिव पदमा रहेका तामाङ पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेको भन्दै केन्द्रीय कमिटीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न सिफारिस गरेको हो। प्रदेश सभा सदस्य तामाङले प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्य हैसियतले प्रस्तुत हुने बताएका थिए।
प्रदेश कमिटीले पार्टीको विधानको धारा ६४– १, २, ४, ६ र ६४–ख–८ को प्रक्रिया बमोजिम उपसचिव पदमा नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।
‘सुदूरपश्चिम प्रदेश सभा सदस्यको पदबाट आवश्यक कारबाही गर्न प्रदेश संसदीय दललाई निर्देशन गरिन्छ,’ प्रदेश अध्यक्ष हर्कबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ। सो विज्ञप्ति पार्टीको केन्द्रीय कार्यालय र प्रदेश सभा संसदीय दलको कार्यालयमा पनि पठाइएको छ।