अत्तरिया : आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरु उम्मेदवारीहरु सिफारिस गरिरहेका छन् । सुदूरपश्चिममका संघका १६ र प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा सबै दलहरु आ–आफ्नो ढंगले उम्मेदवारी सिफारिस गरिरहेका छन् । केन्द्रमा सत्तारुढ दलहरु गठबन्धनको सहमती उरिपरि रहेको भए पनि जिल्ला तहमा प्राय सबै दलहरु उम्मेदवार सिफारिस गरिरहेका छन् ।
सुदूरपश्चिममा उम्मेदवारी सिफारिसभए संग विभिन्न निर्वाचन क्षेत्रको चर्चा समेत सुरु भएको छ । प्रदेशमा सबै भन्दा चासोका साथ कैलाली–५ र डडेल्धुरा निर्वाचनमा धेरैको चासो छ ।
कैलाली–५मा कुन दलको पल्ला भारी भन्ने बहस सुरु भएको छ । २०७४ को निर्वाचनमा नेकपा एमाले अर्थात तत्कालिन बाम गठबन्धनका उम्मेदवारी नारदमुनी रानाले जित हासिल गरेका थिए । उनले काँग्रेसका उम्मेदवार आरजु राणा देउवालाई पराजित गरेका थिए । यस पटक पनि आरजु र नारदमुनी बीच नै प्रतिस्पार्धा हुने धेरैले आकांलन गर्न थालेका छन् । काँग्रेसले पनि आरजुको नाम एकल र एमालेले पनि नारदमुनीको नाम एकल सिफारिस गरेको छ ।
वाम गठबन्धनका साझा उम्मेदवार रानाले २०७४ को निर्वाचनमा आरजुभन्दा ४८ सय ८० मत ल्याएर विजयी भएका थिए । तर, यसपटक नारदमुनिको चुनावी यात्रा २०७४ कोभन्दा कठिन हुने देखिन्छ ।
यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने सम्भावना बलियो छ । पाँच दलको साझा उम्मेदवारका रूपमा आरजु उम्मेदवार बन्ने पक्काजस्तै देखिन्छ । त्यसो भएमा नारदमुनिलाई चुनाव जित्न कठिन हुन सक्दछ । स्थानीय तहको निर्वाचनमा कैलाली–५ बाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गरी ३२ हजार नौ सय ६० मत आएको छ ।
उक्त मत धनगढीका १९ वटै वडा र कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ बाट आएको हो । तीनै वडाबाट एमालेले भने १७ हजार चार सय एक मत मात्रै पाएको छ । यसरी हेर्दा एमालेभन्दा गठबन्धन दोब्बर मतले अगाडि देखिन्छ । यो मतान्तर घटाउनु नारदमुनिका लागि निकै चुनौतीको विषय हुने छ । कैलालीमा यसपटक नागरिक उन्मुक्ति पार्टीको प्रभाव राम्रो बन्दै गएको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गर्दछ । कैलाली–५ बाट यसपटक संघीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता लक्ष्मण चौधरीले चुनाव लड्ने घोषणा नै गरिसकेका छन् ।
२०७४ को निर्वाचनमा जेलबाटै उम्मेदवारी दर्ता गराएर चुनाव लडेका लक्ष्मणले ६ हजार ४ सय ६४ मत ल्याएर तेस्रो बढी भोट पाउने उम्मेदवार बनेका थिए । यसपटक उनी खुला रूपमा निर्वाचनमा होमिँदै छन् । गाउँटोलसम्म चुनावी अभियानसहित हिँडेका लक्ष्मणले यसपटक पहिलाको भन्दा धेरै भोट ल्याउने आकलन गरिएको छ । लक्ष्मणले अधिकांश भोट राना चौधरी समुदायबाट पाउने आकलन गर्न सकिन्छ ।
कैलाली–५ मा नारदमुनिको जित्ने आधार पनि राना चौधरी समुदायको भोटलाई मानिन्छ । लक्ष्मण पनि सोही समुदायबाट उम्मेदवार बन्दा भोट बाँडिने सम्भावना प्रबल रहन्छ । त्यसैले नारदमुनिका लागि लक्ष्मण ठूलो चुनौती बन्ने छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा कैलाली–५ मै पर्ने धनगढी उपमहानगरपालिकामा यसपटक एमालेले निर्वाचित जनप्रतिनीधिको संख्या भने बढाएको छ ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा एमाले कमजोर स्थितिमा थियो । २०७४ मा एमालले धनगढीका १९ वडामध्ये दुई वडा अध्यक्ष मात्रै जितेको थियो । तर यसपटक भने उपमेयरसहित ६ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई नारदमुनिले फाइदाका रूपमा लिन सक्ने आकलन गरिएको छ । कांग्रेसले कारबाही गरेका पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बन्ने चर्चा छ । यदि ओझा स्वतन्त्र उम्मेदवार बनेको खण्डमा कांग्रेसको मत विभाजन हुने देखिन्छ ।
त्यस्तो अवस्थामा एमालेको संगठित भोटसँगै राना थारु समुदायबाट बढी मत ल्याएर चुनाव जित्न सक्ने नारदमुनिको दाउ हुन सक्दछ । तर, ओझा स्वतन्त्र उम्मेदवार बनेमा नारदमुनिले पाउने केही भोट पनि कटौती हुन सक्छ । त्यसैले यसपटकको चुनाव जित्न नारदमुनिलाई फलामको चिउरा चपाउनुसरह हुने देखिन्छ । नारदमुनिप्रति एमालेभित्रै पनि असन्तुष्टि देखिन थालेको छ । उनले असन्तुष्ट समूहलाई व्यवस्थापन गर्न नसकेमा सोचेअनुसारको भोट नआउन पनि सक्दछ । कैलाली–५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । स्थानीय तहको निर्वाचनमा वडास्तरमा पाएको मतका आधारमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ । कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार सात सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७७६ मत पाएको छ ।
त्यसैगरी एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार नौ सय ९३ तथा कैलारीका दुई वडाबाट १४ सय आठ मत गरी १७ हजार ४०१ मत पाएको छ । माओवादी केन्द्रले धनगढीका १९ वडाबाट आठ हजार १७५ मत पाएको छ । सत्ता घटक एकीकृत समाजवादीले वडास्तरबाट दुई हजार नौ मत पाएको थियो ।
गोदावरी–६ कुटि बछेडा पुलको उद्घाटन
अग्नी संवाददाता
अत्तरिया, २४ भदौ
गोदावरी नगरपालिका–६ कुटि बछेडा पुलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
निर्माण कार्य सम्पन्न भएको कुटि बछेडा पुल पूर्वाधार विकास कार्यलय कैलालीले निर्माण सम्पन्न गरेको हो । पुलको सुदूरपश्मि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र पूर्व भौतिक पूवाधार विकास राज्यमन्त्री चुनकुमरीदेवी चौधरीको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
एमएसएलबीदएबी बोईल्डस् प्राईभेट लिमिटेडले ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपयाँमा सम्झैता ठेक्का गरेको उक्त पुलमा ३ करोड ४३ लाख १५ हजार ७ सय ८९ रुपयाँ लागत लागेको छ । २०७७ साल साउन २९ गते सम्झौता भएको पुल २०७८ साल चैत्र २३ गते निमार्ण सम्पन्न भएको हो । पुलको लम्बाई २६।२ मिटर रहेको छ । भने चैडाई ११ मिटर रहेको छ ।
कार्यक्रममा गोदावरी नगरपालिका ६ का वडा अध्यक्ष जग्गुराम चैधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले पुल निर्माणलले नागरिकलाई आवतजावत गर्न एकदमै सहज वातावरण सिर्जना हुने बताए ।