बैतडी : महाकालीमा पानीको बहाव बढेको जानकारी दिने बैतडीमा कुनै पूर्वसूचना प्रणाली नभएपछि नदी तटीय क्षेत्रका महिलाले फोन र एसएमएसबाट बाढीको पूर्वसूचना दिने संयन्त्र गठन गरी सूचना आदानप्रदान गर्ने गरेका छन् ।
बैतडीको दशरथचन्द नगरपालिका–६, शेरादेखि महाकाली नदीले छोएको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकासम्म करिब ६५ किलोमिटर लामो भूभागका बस्तीमा गठन भएका महिला सशक्तीकरण मञ्चले बाढीको पूर्वसूचना दिने गरेको छ । भारतसँग सीमा जोडिएको महाकाली किनारका शेरा, तिरखडेनी, विनायकलगायतका गाउँमा नेपाल टेलिकमको फोन सेवाले काम गर्न थालेपछि महिलाका हातहातमा अहिले मोबाइल फोन देख्न सकिन्छ ।
मोबाइलले छोरीहरू बिग्रन्छन् भनेर यहाँका महिला पहिले सितिमिति मोबाइल बोक्दैनथे । पछिल्लो समय महाकालीमा आउने बाढीको पूर्वसूचना थाहा पाउन थालेपछि भने महाकाली नदी किनारका महिलाले मोबाइल बोक्न थालेको दशरथचन्द नगरपालिका–६, शेराकी तारा कार्कीले बताइन् ।
दार्चुलामा पूर्वसूचना प्रणाली भए पनि त्यसको जानकारी पाउन महाकाली किनारमा बसोबास गर्ने बैतडीका बासिन्दालाई सूचनामा सहज पहुँच थिएन । सूचना संयन्त्र बनाउन सामाजिक संस्थाले महिलालाई सहयोग गरेपछि अहिले उनीहरूले मोबाइलबाट सूचना पाउन थालेका छन् । महिलाहरूको सूचना संयन्त्र बनेपछि बैतडीको दशरथचन्द नगरपालिका–६, शेराकी तारा कार्कीको मोबाइलबाट पञ्चेश्वर गाउँपालिका–४, विनायकका अमृता चन्दको मोबाइलमा म्यासेज जाने गरेको छ ।
महाकालीमा आएको बाढी दशरथचन्द नगरपालिका–६, शेरादेखि बैतडीको पञ्चेश्वरस्थित विनायक पुग्न एक घण्टा लाग्ने गरेको अमृता चन्दले बताइन् । सूचनाअनुसार महाकालीमा पानी बढेका बेला गाउँलेहरू नदी किनारमा जाँदैनन । चन्दले भनिन्,‘बाढीका बारेमा पहिले यो कुरा थाहा थिएन। अहिले महाकालीमा कति पानी बढेको छ भन्ने कुरा मोबाइलबाट थाहा हुन्छ। सुक्खा मौसममा १।८० मिटर पानी हुने महाकाली नदीमा बर्सातमा ३।५८ मिटर पुगेको छ। पानीको स्तर बढी ५।८० मिटर पुगे खतरा हुने थाहा पाएका छौँ ।’ महिलाहरूको सूचना संयन्त्र बनेपछि अहिले बैतडी पञ्चेश्वरकी अमृता चन्द, दशरथचन्द नगरपालिका–६, शेराकी ममता कार्की, महाकालीको डिम्बरघाटकी पार्वती मङ्गोलाको मोबाइलमा बाढीको पूर्वसूचना आउने गरेको छ । प्राकृतिक रूपमा धेरै वर्षा हुँदा र भारतले धौलीगङ्गा बाँध खोल्ने बेलामा महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई पानी बढेको सूचना दिन फोन र एसएमएसले सहज भएको छ ।
समुदायको मागअनुसार तीन वर्षअघि महाकाली किनारमा बसोबास गर्ने नदी तटीय क्षेत्रका महिलाको सूचना संयन्त्र गठन भएको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले जानकारी दिए ।
यसअघि महाकालीमा पानीको बहाव बढेको जानकारी जिल्ला प्रशासन कार्यालयबाट प्रहरी चौकी हुँदै गाउँमा पठाइने गरिएको थियो । मोबाइल फोनबाट एक सेकेन्डमै महाकालीमा कति पानी बढ्यो भन्ने कुरा थाहा पाइने एसएमएस आउने गरेको पञ्चेश्वर डिम्बरघाटकी महिला राधा साउदले बताइन् ।