अत्तरिया, २९ भदौ : कैलालीमा दिनप्रतिदिन डेंगुका बिरामीहरु थपिदै गएका छन् । जिल्लाको १३ वटै स्थानीय तहमा स्वासथ्य परीक्षण तिब्र पारेसंगै बिरामीहरुको संख्या पनि बढेको छ । तराईमा मात्र होइन पहाडमा पनि डेंगुका बिरामीको संख्या बढ्न थालेका छन् । स्वास्थ्य कार्यालय कैलालीका अनुसार धनगढीमा बुधबार थप ८ जनामा डेंगु फेला परेसंगै एक सय ३२ जना बिरामी पुगेका छन् ।
धनगढीमा संचालित माया मेट्रो अस्पतालमा तीन, सेती प्रादेशिक अस्पतालमा २१ जना, गोदावरी नगरपालिकास्थित मालाखेती अस्पतालमा सात, टीकापुर अस्पतालमा १३, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा चार, मसुरिया स्वास्थ्य चौकीमा एक जनामा डेंगुका बिरामी फेला परेका छन ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार सबैभन्दा बढी लम्की चुहा नगरपालिकामा ६६, घोडाघोडीका दुई, टीकापुर नगरपालिकामा एक, जानकी गाउँपालिकामा दुई, बर्दगोरियामा तीन जना डेंगुका विरामी फेला परेको छ । यी बिरामी साउन देखि यता देखा परेका हुन् ।
डेंगुकै कारण कैलालीमा दुई साता यता दुई जनाको मृत्यु भईसकेको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले डेंगुको जोखिम क्षेत्र विरामीको दर हेर्दा लम्कीमा बढी रहेको छ भने मृत्युको दर हेर्दा धनगढी र टीकापुरमा जोखिम रहेको बताए । उनले भने –‘जोखिम क्षेत्रनै यकिन गर्न नसकिएकोले आम नागरिकले सरसफाई, पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने लगायतका गतिविधी गर्न आवश्यक रहेको छ ।’ उनले डेंगुलाई थप फैलन नदिन कैलालीका स्थानीय तहहरुले सचेतनामुलक कार्यक्रमसहित लार्भा खोज तथा नष्ट अभियान गरिरहेको बताए ।
डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।
डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।
डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ । डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगीबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
सम्बन्धित पाेस्टहरु