अत्तरिया : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगितामा विजयी खेलाडीलाई प्रदेश सरकारले आर्थिक तथा भौतिकरूपबाट सम्मान गर्ने बताएका हुन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रदेशस्तरीय छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
उनले खेलकुदले एउटा व्यक्ति, खेलाडी, समाज मात्र नभई राष्ट्रलाई चिनाउन अह्म भूमिका खेल्ने बताए । ुस्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य छ, अहिले समाजमा हामी देख्छौँ विभिन्न प्रकारका रोगले मानिसलाई ग्रसित पारेको हुन्छु, उनले भने । प्रदेश सरकारले गठन भएदेखि नै खेलमा महत्त्वपूर्ण काम अगाडि बढाएको मुख्यमन्त्री भट्टको भनाइ छ । उनले प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै सातवटै प्रदेशलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सुरु गरेको बताए ।
सबै जिल्लामा खेलकुदका लागि व्यवस्थित भौतिक संरचना तयार गर्न र खेलाडीको वृत्ति विकासको लागि कार्यक्रम अगाडि बढाउने कुरामा प्रदेश सरकारले नीतिगत तथा आर्थिक रुपमा योजनाबद्धरुपमा अगाडि बढेको उनले बताए । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहभागी हुने जानकारी दिए ।