अत्तरिया : कैलालीमा शनिबार आएको बाढीका कारण करिब छ हजार परिवार विस्थापित भएका छन् । विस्थापित व्यक्तिहरु हुलाकी राजमार्ग, सडक, विद्यालय भवन, सुरक्षित भवन र पक्की घर भएका आफन्तहरुको छतमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घरबाट पानी ननिस्किएकाले विस्थापितहरु सहज रुपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनले मोटामोटी रुपमा आएको तथ्याङ्क अनुसार भजनी नगरपालिकाका करिब पाँच÷छ हजार, टीकापुर नगरपालिकाका ८०÷९० परिवार, जानकी गाउँपालिकाका ७०÷८० परिवार विस्थापित भएको खबर आएको उल्लेख गरे । यसैगरी, चार सय परिवार डुबानमा परेको जोशीपुर गाउँपालिका र झण्डै दुई सय घर डुबेको कैलारी गाउँपालिकाको विस्थापितको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको छैन ।
विस्थापितहरुको यकिन तथ्याङ्क नभएका कारणले एकद्वार प्रणालीबाट राहत वितरण गर्न पनि समस्या भइरहेको जोशीको भनाइ छ ।
जम्मा ५८ हजार जनसङ्ख्या रहेको भजनी नगरपालिकामा ३५÷४० हजार घरपरिवार प्रभावित भएका छन् । पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
‘उद्धारको पर्खाइमा रहेकाहरु हिजोदेखि घरको छाप्रोमा बसिरहेको चौधरीले जानकारी दिए । उनले सबै उद्धार कार्यकै लागि खटिरहेकाले अहिलेसम्म कसैलाई राहत पनि वितरण नगरिएको उल्लेख गरे । तर, जिल्ला प्रशासन कार्यालयले भने बाढीमा फँसेका लगभग सबैको उद्धार भइसकेको जनाएको छ ।
सम्बन्धित पाेस्टहरु