अत्तरिया : नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिक तर्फबाट उम्मेदवार बनाउने भएको छ । कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खस आर्य महिलामा आरजुको नाम सिफारिस गरिएको जनाएको छ ।
आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बागलुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ । कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार समानुपातिकतर्फ उम्मेदवारको नाम समेटिएको बन्द सूची बुझाउने मिति तोकेको छ ।
समानुपातिकतर्फ बन्द सूचीलाई अन्तिम रूप दिन अहिले कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले क्लस्टर अनुसार आठ सहमहामन्त्रीले सूचीलाई फाइनल गर्दै छन् । कांग्रेसले नेता विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, जीवन परियारलगायतलाई समानुपातिकमा राखेको छ ।