प्रादेशिक आयुर्वेद चिकित्सालय अस्पताल : सेवा सुरु हुन भन्दा अगाडि शिविर सञ्चालन गर्दै

अत्तरिया, ९ असार : कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँको लगानीमा ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी छ । अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण गरिएको छ ।
चिकित्सालयका प्रमुख डा. खगेन्द्र बमले भवन निर्माणको काम सबै सम्पन्न भइसकेको बताए । भवन चिकित्सालयलाई हस्तान्तरण भईसकेको छ ।। उनले चिकित्सालयले अक्कुपञ्चर, पूर्वकर्म, पञ्चकर्म, योग लगायत आयुर्वेद चिकित्सा पद्दतिका सम्पूर्ण सेवा चिकित्सालयमा हुने गरी भवन, जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्साको सबै सेवा एकै ठाउँमा दिने गरी पहिलो पटक ठूलो अस्पताल सञ्चालन हुन गइरहेको बताए । सुदूरपश्चिमका विभिन्न जिल्लामा आयुर्वेद सम्बन्धित ८० वटा औषाधालय सञ्चालनमा छन् ।
चिकित्सालयका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३५ जनाको दरबन्दी स्वीकृत गरेको छ । डा. बमका अनुसार ६ जना आयुर्वेद विशेषज्ञ डाक्टर, ४÷४ जना कविराज र वैद्य, ६ जना नर्सिङ स्टाफ, योग गुरु, कार्यालय सहयोगीलगायतको दरबन्दी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको छ । ‘अहिले नै स्वीकृत दरबन्दी अनुसार चिकित्सालयमा जनशक्ति छैन,’ डा. बमले भने । आयुर्वेद अस्पतालका लागि चाहिने उपकरण र औषधिहरूको आपूर्तिसमेत भईसकेको छ । बेडलगायतका फर्निचरहरू चिकित्सालय भवनमा जडान भएका छन् । ‘केही औषधि र उपकरणहरू हस्तान्तरण भएर आइसकेका छन’ डा. बमले भने, ‘केही आउने क्रममै छन् । अस्पताल सुरु गर्दासम्म लगभग सबै उपकरण आइसक्छन् ।’
स्वास्थ्य शिविर सञ्चालनमा
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा चार दिनेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रादेशिक आयुर्वेद चिकित्सालयले यही ११ गते देखि १४ गतेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । प्रादेशिक आयुर्वेद चिकित्सालयले ११ गतेदेखि निरन्तर रुपमा निःशुल्क ओपीडी सेवा समेत सञ्चालन गर्ने भएको छ । शिबिरमा बाथरोग, अम्लपित (ग्यास्ट्रिक), कलेजो सम्बन्धी रोगहरु (जण्डिस),उदर (पेटसम्बन्धी रोग), स्त्री रोग, उच्च रक्त चाप, मधुमेह (सुगर), त्वक बिकार (छाला सम्बन्धी रोग), पिसाब सम्बन्धी रोगहरु, अर्श (पाइल्स), फिष्टुला लगायत समस्याहरुको उपचार तथा परामर्श हुने छ ।
यस्तै निःशल्क ल्याब सेवा, निःशुल्क, औषधी वितरण र परामर्श सेवा हुने चिकित्सालयले जनाएको हो । प्राविधिक कारणले गर्दा चिकित्सालयले उद्घाटनमा ढिलाइ भएको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए । आयुर्वेद चिकित्सालय सम्बन्धी प्रचारप्रसारको समेत कमी रहेको उनले बताए । चिकित्सालय ५० बेड रहेको र ३५ जना चिकित्सकहरको दरबन्दी रहेको उनको भनाइ छ । ३५ जना मध्य पाँच जना विशेषज्ञ डाक्टर, आयुर्वेद कविराज चार जना, स्टाप नर्स दुई जना, ल्याब टेक्निसियन एक जना, प्राकृतिक चिकित्सक एक जना, होमी प्याथोलोजिक एक जना, रेडियोग्राफी एक जना र अन्य प्रशासनमा लगाएर ३५ जना कर्मचारी बमले बताए ।
प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालक समितिका अध्यक्ष नरेश बिष्टले चिकित्सालयलाई पहिला शिबिरका रुपमा सञ्चालन गने र शिविरमा आएका बिरामीहरुलाई बेड भर्ना गरेर त्यसपछि अन्य सेवाहरु सञ्चालन गर्ने जाने बताए । सञ्चालक समितिले अहिलेसम्म पूर्णता नपाउँदा चिकित्सालय सञ्चालनमा ढिलाइ भएको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.