डडेल्धुरा : रासनमा हुने घोटलाको सूचना सञ्चारमाध्यमसम्म पुर्याएको भन्दै जन्मकैदको मागसहित मुद्दा खेपिरहेका सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ नम्बर गण दार्चुलामा कार्यरत वरिष्ठ हवल्दार नरेशसिंह शाहूले सफाइ पाएका छन् । हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरणसमेत खुल्ने गरी गोपनीयता भंग गरेको आरोप खेपिरहेका शाहूले सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका प्रमुख, डीआईजी दुर्गाप्रसाद भट्टराईले शाहूले बुधबार मात्रै विशेष अदालतबाट सफाइ पाएको पुष्टि गरे । हवल्दार शाहूले सफाइ पाएका छन्, डीआईजी भट्टराईले भने, “विभागीय कारबाही भने अझै पनि हुनसक्छ ।’
४४ नम्बर गणका तत्कालीन गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) त्रिभुवन बिष्टलाई मातहतका सुरक्षाकर्मीलाई बिदामा छोडेर रासनमा घोटाला गरेको आरोप लागेको थियो । रासन काण्डमा हवल्दार शाहूलाई झुठो आरोप लगाइएको भन्दै विरोध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपति बिष्टको जिम्मेवारी खोसिएको थियो ।