अत्तरिया : मंसिर ४ मा हुने आम निर्वाचनका लागि कैलाली र कञ्चनपुरका उम्मेदवारहरु मतदाता रिझाउने अभियानमा छन् । विहान देखि वेलुका सम्म दलका र स्वतन्त्र उम्मेदवारहरु मतदाताकै घर दैलामो व्यस्त हुने गरेका छन् । उम्मेदवारहरु जसरी हुन्छ आफ्नो पक्षमा मत तान्ने रणनीतिमा जुटेका छन् । विशेष गरी कैलालीको क्षेत्र नम्बर ४ र ५ उम्मेदवारहरु अझ बढी कस्सीएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् । मतदाताहरु काममा ब्यस्त हुने समय भएकाले पनि उम्मेदवारहरु बिहान बेलुका मतदाता भेटन घरमै पुग्ने गरेका छन् ।
कैलाली–४ मा गठबन्धनका उम्मेदवारहरु आईतबार बिहान तरुण दलले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए भने एमाले का उम्मेदवारहरु घर दैलो मा नै छन् । यस्तै नेकपा एमालेले अत्तरिया महेन्द्रनगर रोडमा निर्बाचन परिचालन कमिटीको सचिबालय स्थापना गरेको छ । यस्तै अन्य निर्बाचन क्षेत्रमा पनि दलहरु आन्तरिक मिटिङ छलफल र मतदाता भेटघाटमा ब्यस्त रहेका छन् ।
पार्टी गठन भएको छोटो समयमा कैलालीमा ठूलो शक्ति बनेको नागरिक उन्मुक्ति पार्टीले पाँच वटै निर्वाचन क्षेत्रमा आफ्नो चुनावी गतिविधिलाई अगाडि बढाएको छ । मतदाता रिझाउनका लागि उनीहरु जनतालाई खेतको काममा पनि सघाउन थालेको छन् । अहिले धान काट्ने सिजन भएका कारण किसान खेतमै रहेकाले भेटघाटका लागि खेतमै पुगिरहेको नेकपा (माओवादी) केन्द्रका रमेशप्रसाद भट्टराईले जानकारी दिए । ‘जनता खेतमै रहेकाले उहाँहरुलाई भेटघाट गर्दै हामीले सहयोग पनि गरिरहेका छौं’, उनले भने,‘यो भोटमात्रै माग्ने मेसो होइन । हामी पनि खेतीकिसानी गरेकाले सहयोग गरिरहेका छौं ।’
गठबन्धन उम्मेदवारलाई भोट माग्दै सो पार्टीका कार्यकर्ताले धनगढी उपमहानगरपालिका–१५ स्थित उर्मा गाउँमा किसानको खेतमा धान काट्दै भाट माग्ने कार्य गरेका छन् । गाउँघरका जनतालाई यसैगरी खेतबारीमै भेट्दै भोट माग्ने र सहयोग पनि गर्ने जनाइएको छ ।
उर्मा गाउँ निर्वाचन क्षेत्र नम्बर ५ मा पर्दछ । यो क्षेत्रमा गबन्धनबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त उम्मेदवार हुन । यस्तै, प्रदेशतर्फ (क) मा माओवादी केन्द्रका रमेश धामी र (ख) मा नेपाली कांग्रेसका प्रकाश देउवा उम्मेदवार हुन ।
२०७० को निर्वाचनमा प्रदेश (ख) मा एकअर्काका प्रतिद्वन्द्वी डिल्लीराज पन्त र माओवादीका धामी अहिले सहयात्री भएर एक अर्कालाई भोटसमेत मागि रहेका छन् । अघिल्लो निर्वाचनमा धामीलाई पराजित गरेर पन्त प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।
मतदाता रिझाउनकै लागि गठबन्धनकातर्फबाट प्रदेश (ख) मा उम्मेदवार रहेका प्रकाश देउवाले सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रको सडकमा सरसफाइ गरेका हुन । ‘मेरो जिम्मेवारी, मेरो एक भोट प्रकाश देउवालाई’ भन्ने नाराका साथ सरसफाइ गरिएको नेपाली कांग्रेसका नेता खेम उप्रेतीले उल्लेख गरे ।
क्षेत्र नम्बर ५ प्रदेश (ख) मा नेपाली कांग्रेसकै क्षितिज भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनकै उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका भण्डारीले धनगढी बजार क्षेत्रमा प्रचारप्रसार कार्यलाई अगाडि बढाइ रहेका छन् । अन्य राजनीतिक दलहरुले पनि प्रचारप्रसार कार्यलाई अगाडि बढाएका छन् । कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधि सभा सदस्यमा लगातार दोस्रो जितको खोजीमा रहेका नेकपा (एमाले) का नारदमुनि रानाले पनि आफ्नो चुनावी अभियानलाई अगाडि बढाइ रहेका छन् ।
कैलालीमा प्रतिनिधि सभातर्फ ५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धन तथा स्वतन्त्र उम्मेदवारले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि कैलालीमा पाँच सिटमा ४८ जना र प्रदेशतर्फको १० सिटमा ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कैलालीमा प्रतिनिधिसभा सदस्य पदका लागि ४८ र प्रदेशसभा सदस्य पदका लागि ९६ जनाको उम्मेदवारी परेको छ । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा कुल एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।
सम्बन्धित पाेस्टहरु