धनगढी : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकै कारण संविधान जोगिएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी प्रशिक्षणलाई सम्बोधन गर्दै नेपालले प्रतिगमन सच्याउन र संविधानलाई जोगाउने काम गठबन्धनले गरेको बताए ।
नेपालले भने, ‘यो ‘नेचुरल अलाइन्स’ हो । ओली नेतृत्वको गठबन्धन अपवित्र हो ।’ अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको विरोधमा खर्चेमा नेपालले ओलीलाई बयलगाडा दर्शनका प्रवद्र्वक भनेर ब्यंग्य गरे ।
‘बयलगाडा दर्शनका प्रवर्धक श्रीमान केपी शर्मा ओलीजी, उहाँनै भन्नुहुन्थ्यो नेपालमा गणतन्त्र ल्याउनु भनेको बयलगाडामा चढेर अमेरिका गए जस्तै हो । उहाँको विचारमा राजतन्त्र फाल्नु र गणतन्त्रको स्थापना असम्भव थियो, तर हामीले त्यसलाई सम्भव बनायौं’ नेपालले भने ।
‘मेरो नेतृत्वको नेकपा एमाले, गिरिजाप्रसाद कोईराला नेतृत्वको नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको नेकपा माओवादीको आन्दोलनले नै नेपालमा राजतन्त्र हट्यो । गणतन्त्रको स्थापना भयो ।’