दलका शीर्ष नेता सुदूरपश्चिम केन्द्रित, आज गठबन्धनका नेता आउँदै

अत्तरिया, २३ कात्तिक : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरु चुनावी आमसभालाई सम्बोधन गर्न देश दौडाहमा छन् । शीर्ष नेताहरु विशेष गरी सुदूरपश्चिम केन्द्रित भएका छन् । प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा एक सातादेखि सुदूरपश्चिममै छन् ।
प्रधानमन्त्री देउवाले १७ गतेदेखि २० गतेसम्म आफ्नो गृह जिल्ला डडेल्धुराका विभिन्न सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । उनी तीन दिन देखि धनगढीस्थित निवासमै बसिरहेका छन् । उनले दैनिक नेता तथा कार्यक्रतालाई भेटेर चुनावी माहोलसँगै असन्तुष्टलाई फकाइरहेका छन् ।
यसैगरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार आज दार्चुला, बैतडीसँगै कैलालीको सुखडमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउँदैछन् । उनी प्रधानमन्त्री देउवासँगै ती चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि बुधबार दार्चुला र बैतडीमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउने एकीकृत समाजवादी कैलालीका अध्यक्ष भैरव रावलले जानकारी दिए ।
यसै क्रममा आज बुधबार प्रधानमन्त्री देउवाले दार्चुला, बैतडी र कैलालीको सुखडमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका थिए । सोही दिन उनले बैतडी र कञ्चनपुरका आमसभालाई पनि सम्बोधन गरेका थिए ।
ओली फेरि कार्तिक २६ गते सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार सो दिन ओलीले तीन वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले कार्तिक २६ गते डोटीको दीपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको आमसभालाई सम्बोधन गर्ने छन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.