हत्यारा पक्राउ र कब्जा बुथमा पुन मतदानको माग गर्दै एमालेको रिले अनशन

बाजुरा : नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ । विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत नेकपा एमालेले रिले अनशन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।

मंसिर ४ गते बुथ कब्जा गर्न नदिएको बाहनामा घर भित्रैबाट तानेर कुटीकुटी हत्या गर्ने अयडीका हत्यारालाई पक्राउ गरिनु पर्ने र प्रहरी प्रशासनकै मिलोमतोमा नेपाली काँग्रेसबाट कब्जा गरिएका बुथहरुमा पुन मतदानको मिति घोषणा गरिनु पर्ने माग सहीत नेकपा एमाले चरणवद्ध आन्दोलनमा रहेको छ ।

२ जनालाई पक्राउ पछि विद्यार्थी नेता अयडीको शव दाहसंस्कार गरेको नेकपा एमाले किटानी जाहेरी परेका २२ जनालाई तत्काल पक्राउ गर्न माग गरिरहेको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका सबै जनालाई पक्राउ नगरेसम्म र कब्जा बुथमा पुन मतदान नगरिएसम्म आन्दोलन जारी राख्ने नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन् ।

राज्य सत्ताको चरम दुरुपयोग गर्दै, मान्छे मार्न लगाएर बुथ कब्जा गरेर जित्ने मनसाय राख्नेहरुका विरुद्ध न्याय र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु परेको प्रदेश सभा (ख) सदस्य उम्मेदवार समेत रहेका थापाको भनाई छ । नेकपा एमालेले १६ वटा मतदान केन्द्रमा पुन मतदान गरिनु पर्ने माग राख्दै आएको छ ।

घाइते अवस्थाको व्यक्तिलाई खाट बाट तानेर कुटीकुटी हत्या गर्ने अमानवीय व्यवाहार भएका दानवी प्रवृत्तीका हत्याराहरुलाई पक्राउ नगरिएसम्म अनेरास्ववियुले विश्राम नलिने केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन् । अनेरास्ववियुले पनि हत्यारा पक्राउ र कारवाहीको माग सहीत देशव्यापी चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रहरी प्रशासनलाई नै साथमा लिएर, सर्वसाधारण मतदातालाई प्रभावमा राखि, कुटपीट, झगडा, हत्या मारकारको श्रृखलाबाट चुनाव जित्न खोजिएपछि त्यसका विरुद्ध आन्दोलन गर्नु परेको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन् । नेकपा एमालेले हत्यारालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउनु पर्ने, १६ बुथमा पुन मतदान हुनु पर्ने, ११ जना विद्यार्थीलाई विना सर्त रिहाइ गरिनु पर्ने, हत्या गरिएका चेतन अयडी र प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको परिवारले क्षतिपूर्ति र न्याय पाउनु पर्ने माग अघि सारेको बताएको छ । रिले अनशनमा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, पेम्बा गुरुग भोटे, भरत थापा, काशी विक, हरि रोकाया, अमर खड्का, सिता थापा, माया खड्का, नरेश रोकाया लगायत सहभागि छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.