अत्तरिया : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको बैठक संसदीय दलको नेता छनोट गर्न आज पुनः बैठक बस्दैछ । शनिवार बसेको बैठकले नेता छनौट गर्न नसकेपछि आज पुनः बैठक बस्ने प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए । सहमतिमा दलको नेता छान्न बसेको बैठक शनिवार समय अभाव तथा चिसोका कारण रोकिएको थियो । ‘ हिजो समय अभावका कारण निर्णय लिन सकिएन आज पुनः बैठक बस्दैछौ सहमतिमै दलको नेता छान्छौ ।, ’ यस्तै दलको सहमतिमै दलको नेता छान्ने उनको दाबि छ ।
धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठक सहमति नजिक पुगेको भट्टले बताए । प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाट दुवैले जनाले दलको नेतामा दाबी गरेका छन् । शनिवार बिहान प्रदेश कमिटी तथा केन्द्रीय सदस्यहरूको बैठकले सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने भनेको थियो । आज ९\ १० बजे फेरी बैठक बस्ने प्रदेश इन्चार्ज भट्टले बताए ।चिसोका कारण अलि ढिलो बैठक सुरु हुन सक्ने उनले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा अहिले सम्म नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एमालेले दलको नेता चयन गरिसकेको छ । नेकपा एमाले दलको नेता राजेन्द्र रावल, नेकपा एसको दलको नेतामा दीर्घ सोडारी र नागरिक उन्मुक्तिको नेतामा रामेश्वर चौधरी छनोट भइसकेका छन् ।