मौसम पुर्वानुमान महाशाखा : हुस्सु केही दिन कायमै रहने

अत्तरिया : कैलाली कञ्चनपुर लगायत तराईमा सुरु भएको हुस्सु केही दिन कायमै रहेने अनुमान गरिएको छ । मौसमविदका अनुसार पानी नपरेसम्म तराईमा हुस्सु कायमै रहनेछ । ‘तत्काल बर्षाको सम्भावना रहेको छैन’ जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले भने, ‘त्यसैले तराईमा हुस्सु कायमै रहेने देखिएको छ ।’ उनका अनुसार कैलालीमा आज (सोमबार) दिउँसो पछि मौसम खुल्न सक्ने भए पनि पूर्ण रुपमा घाम लग्ने सम्भावना छैन । यो क्रम दुई तीन दिन सम्म कायमै रहेन सक्ने उनले बताए ।

‘पहाडी क्षेत्रमा फाटफुट बर्षासंगै उच्च पहाडी र हिमाली क्षेत्रमा बर्षाको सम्भावना रहेको छ,’ उनले भने, ‘तर तराई क्षेत्रमा भने बर्षाको सम्भावना न्यून रहेको छ, बर्षा नहुँदा हुस्सु कायमै रहने छ ।’ लगातार हुस्सु कायमै रहेपछि चिसो बढ्ने उनले बताए । हुस्सुका कारण तापक्रम घट्दै जाने उनले बताए ।

स्वास्थ्यकर्मीले भने चिसो बढ्दै जाँदा स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै सचेत हुन नागरिकलाई आग्रह गरेका छन् । ‘चिसो बढेपछि सामान्व मानिसलाई पनि ज्वरो आउने, रुघाखोकी लाग्ने हुनसक्दछ,’ सेती प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन कन्सल्टेन्ट डाक्टर शेर बहादुर कमरले भने, ‘दम, निमोनिया जस्ता रोगको समस्या भएका नागरिकले अझ बढी स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ ।’ चिसोबाट बच्न अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनको सुझाव छ । घर भित्रै बस्ने र तातो झोलीले खानेकुरा प्रयोग गरेमा चिसोको असर कम हुने उनले बताए ।

उनका अनुसार चिसो बढेपछि सेती प्रादेशिक अस्पतालमा विरामी पनि बढेका छन् । दम रोगी, निमोनिया, उच्च रत्तचाप र मधुमेह भएका बिरामी उपचारका लागि अस्पताल आउने गरेका उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.