काँग्रेस संसदीय दलमा देउवा र थापाबीच प्रतिस्पर्धा हुन सक्ने आंकलन

अत्तरिया : सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि सात जना आकांक्षी देखिएपनि दुई जनाबीच प्रतिस्पर्धा हुने संभावना देखिएको छ । संसदीय दलको नेताका लागि प्रकाश देउवा, बहादुर सिंह थापा, मेघराज खड्का, कमल शाह, दिवान बिष्ट, शिवराज भट्ट र प्रकाश बम आकांक्षी देखिएका छन् । उनीहरु मध्ये पार्टीको सबैभन्दा माथिल्लो पदमा खड्का छन् ।

अछामबाट निर्बाचित खड्का नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेश समितिका महामन्त्री हुन् । तर उनी निर्बाचनमा जाने पक्षमा छैनन । र, संसदीय दलको नेताका लागि उनले मरिहत्ते गरेका छैनन । संस्थापन पक्षका खड्का पार्टीको केन्द्रीय नेतृत्वको निर्देशन पालना गर्ने पक्षमा देखिन्छन् । सहमतीमा आफू संसदीय दलको नेता चयन हुने देखिएमा सातै जना आकांक्षी अन्तिम समयसम्म दावेदार रहीरहने देखिन्छन । तर त्यो संभावना देखिदैन । अन्तिममा प्रकाश देउवा र बहादुर सिंह थापाबीच प्रतिस्पर्धा हुने संभावना बलियो छ । त्यो पनि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साँउदले साथ दिएको खण्डमा मात्र थापा उम्मेदवार हुने देखिन्छ ।

तर साँउदले संसदीय दलको नेताका लागि देउवालाई आश्वासन दिएको विश्वस्त स्रोतले बतायो । साँउद खुलेर थापाको पक्षमा आउने अवस्था पनि छैन । पार्टी सभापति देउवा पनि अहिलेसम्म कुनै नेताका पक्षमा बोलेका छैनन । तर देउवा पक्षधरहरु पार्टी सभापति देउवाको निर्देशनको पर्खाईमा छन् । त्यसकारण पनि संस्थापन पक्षबाट धेरै आकांक्षी मैदानमा देखिएका हुन् । प्रदेश सभामा संस्थापनकै पल्ला भारी भएका कारण संस्थापन ईतर पक्षबाट कसैले उम्मेदवारी दिने अवस्था देखिदैन । संसदीय दलको नेताको दावेदार रहेका एक जना सांसदले भने, हार्नका लागि भने कोही उम्मेदवार हुन तयार छैनन ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.