तेघरीको देवीदल गणमा ९९ जना सिपाही दिक्षित

अत्तरिया : नेपाली सेनाको श्री नम्बर ५ बाहिनी अड्डाअन्तर्गत श्री देवीदल गणमा सैन्य आधार तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ। बुधवार कैलालीको तेघरीमा रहेको देवीदल गणमा सञ्चालन भएको सि।सं। १० सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको हो।

सुदूरपश्चिम पृतना हेड क्वाटरका निमित्त पृतनापति सहायक रथी टंकप्रसाद भट्टको प्रमुख आथित्यमा दिक्षान्त समारोह भएको हो। कार्यक्रममा प्रमुख अतिथि निमित्त पृतनापति सहायक रथी भट्टले तालिम सफलतापूर्वक सम्पन्न गरि सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिएका थिए भने तालिम टोलीद्वारा प्रदर्शित कवाजको निरीक्षणसमेत गरेका थिए।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने ९९ जना सैन्यहरूलाई पुरस्कृत गरिएको थियो। यसरी पुरस्कृत हुने सैन्यहरूमा फायरिङमा प्रथम हुने सिपाही जनकसिंह बिष्ट, ड्रिलमा प्रथम हुने सिपाही सुनिल ठगुन्ना, बाधापारमा प्रथम हुने सिपाही पुष्कर ठगुन्ना र ५ किलोमिटर दौडमा प्रथम हुने सिपाही करणसिंह बोहरा तथा सैद्धान्तिक तथा व्यवहारिक दुबैतर्फ प्रथम भई सर्वोत्कृष्ट हुने सिपाही महेशसिंह धामी रहेका थिए।
९ महिने तालिम अवधिको सैन्य आधारभूत तालिम पूरा गरेर दिक्षित भएसँगै सिपाहीहरू नयाँ नियुक्ति लिई विभिन्न युनिटमा खटिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.