अत्तरिया : केही दिनयता सामाजिक सञ्जालमा एक युवतीको भिडियो निकै भाइरल छ । लोक गायक पुस्कल शर्माले स्टेजमा प्रस्तुति दिँदा ति युवती रोएको भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भएको हो ।
गायक शर्माको स्टेज प्रस्तुतिमा ति युवतीले चिच्याउँदै गीत गाएकी छिन् । उनको दुई वटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जसमध्ये ‘मुटु जलाई जलाई’ बोलको गीतमा उनी हाउभाउका साथ चिच्याएर गीत गाएकी छिन् । त्यसपछि शर्माले ‘हो भन निरमाया आउँछौ आउँदैनौँ’ बोलको गीत गाउँदा ति युवती धरधरी रोएकी छन् ।
दुई दृश्यको भिडियो पुस्कल स्वयंले टिकटकमा पोष्ट गरेका छन् । जसमध्ये ‘मुटु जलाई जलाई’को प्रस्तुतिको भिडियोले तीन दिनमा झन्डै ३० लाख भ्युज पाएको छ । ‘हो भन निरमाया आउँछौ आउँदैनौं’को प्रस्तुतिले झण्डै ५० लाख भ्युज पाइसकेको छ । उक्त दृश्य कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको हो । गायक शर्माले पाँच दिनअघि अत्तरिया पुगेर प्रस्तुति दिएका थिए ।
उक्त भाइरल भिडियोलाई लिएर धेरैले विभिन्न अनुमान गरेका छन् । कतिपयले उनको ब्रेकअप भएको हुनसक्ने अनुमान गरेको प्रतिक्रियाहरू देख्न सकिन्छ । आँचल नाम नामकी ती युवतीले पुस्कल शर्मालाई टिकटकमा समेत फलो गरेकी छिन् । गायक शर्माले ति युवतीसँग आफूले भेट्न भने नपाएको बताए । ‘उहाँलाई भेटन पाएन् । टिकटकमा फलो गर्नुभएको रहेछ । फलोब्याक गरेको छु’ उनले भने । गायक शर्माले मेला महोत्सवमा पुग्दा माया गर्ने हजारौं फ्यानहरुसँग भेटन् पाउने बताउँदै खुशी व्यक्त गरे ।
‘खुशी लाग्छ, यस्ता दृश्यहरू धेरै महोत्सवमा देख्न पाइन्छ । अत्तरियामा चाहिँ कसैले अलि नजिकबाट उक्त दृश्य खिच्नुभएको रहेछ’ उनले भने, ‘दर्शक स्रोताहरुको यस किमिसको माया पाउँदा सांगीतिक क्षेत्रमा अझ राम्रो काम गर्न उर्जा मिल्छ ।’ शर्मा विशेष गरी प्रेम विरहका गीतमा निकै रुचाइएका गायक हुन् ।