धमलापत्नी एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

रुपन्देही : कलाकार एलिजा गौतम आज नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराएकी हुन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन् ।

‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’ धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् ।

एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् । नागरिक उन्मुक्ति सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । यो उम्मेदवारीलाई रेशम चौधरी रिहाइका लागि दबाबका रूपमा हेरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.