सामुदायिक विद्यालयमा निजी शिक्षक व्यवस्थापन गर्ने अभियान
निजी स्रोत शिक्षकको व्यवस्थापनका लागि स्थानीय सरकार अग्रसर हुनपर्ने माग
धनगढी : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापनका लागि स्थानीय सरकार अग्रसर हुनपर्ने माग गरिएको छ । शिक्षकहरुको व्यवस्थापन हुन नसक्दा सामुदायिक विद्यालयको गुणस्तर सुध्रिन नसकेको भन्दै शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र वडा अध्यक्ष सुखदेव रानाथारुलाई निजी शिक्षक व्यवस्थापन अभियानका संयोजक पुष्पराज रानाको नेतृत्वमा बुझाएको हो । वडा अध्यक्ष सुखदेव रानाले विद्यालयमा शिक्षकहरुको समस्या वडा पालिकाको पनि भएको हुँदा आफ्नोतर्फ हुने पहल गर्ने प्रतिबद्धता गरे ।
यस्तै संयोजक पुष्पराज रानाले नगर शिक्षक गठन नहुँदा सम्म शिक्षामा सुधार हुन नसक्ने बताए । अहिले सम्म नगर शिक्षक नियमावली नहुँदा समस्या भएको बताउँदै वडा अध्यक्षहरुले पहल गर्नुपर्ने उनले सुझाए । उनले त्यसका लागि सम्पूर्ण वडाका जनप्रतिनिधि एक हुन आवश्यक रहेको बताए ।
नगरका १९ वटै वडामा निजी शिक्षक व्यवस्थापन अभियान सञ्चालन गर्ने कार्यक्रम अन्र्तगत शनिबार वडा नम्बर १५ मा बुझाएको हो । वडा नम्बर १७ बाट यो अभियान सुरु गरेको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा शिक्षकहरुलाई समयमै तलव खुवाउन नसक्दा शिक्षाको गुणस्तर समेत सुधार हुन नसकेको शिवगंगा प्राविका प्रधानाध्यापक रामसिंह रानाले बताए । ‘सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा बाल शिक्षकको व्यवस्था गर्नपर्यो । निजी शिक्षकलाई समयमै तलव खुवाउने वातावरण बनाउनुपर्यो’, उनले भने ‘तव, मात्र शिक्षामा केहि भए पनि सुधार गर्न सकिन्छ ।’ समयमै तलव खुवाउन शिक्षकहरुको मनोबल पनि बनाउन नसक्ने अवस्था रहेको उनले बताए । वडा पालिकालाई बुझाएको ज्ञापनपत्रमा विद्यालयमा एक कक्षा एक शिक्षक को दरबन्दीको व्यवस्था हुनेपर्ने, वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गरेका छन् ।
विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले वडा शिक्षा समितिलाई क्रियाशिल बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, नीजि स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु अगाडि सारेका छन् ।
यस्तै, गरी सामुदायिक विद्यालयमा कक्षा एक देखि ५ सम्म अंग्रेजी माध्याममा बढाउने वातावारण सिर्जना गर्नुपर्ने, बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमो व्यवस्था मिलाईनुपर्ने लगायतका माग रहेका छन् । त्यस्तै गरी सरकारी संघ संस्थामा कार्यरत कर्मचारी र विद्यालय व्यवस्थापन समतितिका अध्यक्षहरुका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्यनन गराउने वातावरण बनाउने र विभिन्न ठाउँमा विद्यालयका नाममा रहेका सम्पति कुनै व्यक्ति या संस्थाले प्रयोग गरेको भए विद्यालयहरुलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकको सक्रियताले मात्र सम्भव नभएको हुँदा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने शिक्षकहरुको भनाई रहेको छ । उपमहानरपालिकामा सामुदायिक विद्यालयमा निजी शिक्षक व्यवस्थापन अभियान अन्र्तगत भोली आईतबार वडा नम्बर १६ मा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।