सुदूरपश्चिममा किन गइरहेको छ एकपछि अर्को भूकम्प ?

एक वर्षमा चार म्याग्निच्युडभन्दा माथिका ४० भूकम्प

अत्तरिया : पछिल्लोपटक पश्चिम नेपालकेन्द्रित भूकम्प जान थालेका छन्। साढे चार हजार निजी घर भत्काउने गरी साढे दुई महिनाअघि डोटीमा भूकम्प गएकामा १० माघमा बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ। भूकम्पबाट बाजुराको गौमुल गाउँपालिका– २ की जमुना रोकायाको ज्यान गएको छ भने सुदूरपश्चिमका विभिन्न जिल्लामा भौतिक क्षति पुर्‍याएको छ। २२ कात्तिक राति २ बजेर १२ मिनेटमा डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो भने आठजना घाइते भएका थिए। त्यसपछि २६ कात्तिक राति ८ बजेर १२ मिनेटमा बझाङको छान्ना केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युटको भूकम्प गएको थियो।

पछिल्लोपटक बाजुराको बिच्छ्याँ केन्द्रबिन्दु भएको १० माघ दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्पले थप क्षति पुर्‍याएको छ। ‘पश्चिम केन्द्रबिन्दु भएर धेरै भूकम्प गइरहेका छन्, कात्तिक र १० माघ ९मंगलबार०को भूकम्प मध्यमस्तरको हो,’ राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भने, ‘यसको अर्थ त्यस क्षेत्रमा भूकम्पीय शक्ति संचित भएर बसेको छ। त्योभन्दा ठूला भूकम्पको चेतावनीका रूपमा पनि लिन सकिन्छ।’

२२ कात्तिकमा ठूलो भूकम्प जानुअघि सोही राति ९ बजेर ७ मिनेटमा ५.७ र ९ बजेर ५६ मिनेटमा ४।१ म्याग्निच्युटको भूकम्प गएको थियो ।राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार सन् २०२२ जनवरी १ देखि हालसम्म नेपालमा चार म्याग्निच्युडभन्दा माथिका ४० वटा भूकम्प गएका छन्। जसमध्ये सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र १६ वटा रहेका छन्। पछिल्लोपटक ७ माघमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युटको भूकम्प गएको थियो।

‘६ म्याग्निच्युटका एक हजारवटा भूकम्प गएमा बल्ल ८ म्याग्निच्युटबराबरको भूकम्पको शक्ति बाहिर निस्किने हुन्छ,’ शर्माले भने, ‘पछिल्लोपटक ६ म्याग्निच्युटको भूकम्प डोटीमा मात्र गएको छ। त्यहाँको जमिनभित्र अझै भूकम्पीय सञ्चिति छ। सबै सञ्चित शक्ति बाहिर आएको छैन। गोर्खादेखि भारतको देहरादुनसम्म ठूलो भूकम्प जाने जोखिम देखिन्छ।’ सन् १५०५ यता गोरखादेखि पश्चिममा ८ म्याग्निच्युटको भूकम्प गएको छैन।

भारतीय र युरेसियाली प्लेटबीचको संघातबाट बनेको यो क्षेत्र (हिमालय भूखण्डको केन्द्रीय भाग नेपाल) नवभूक्रियाशीलताका आधारमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ। गृह मन्त्रालयको ‘गोरखा भूकम्प– ०७२ अनुभव र सिकाइ’ पुस्तकमा भनिएको छ, ‘प्रतिवर्ष दुई सेन्टिमिटरले भारतीय प्लेट हिमालयमुनि घुस्दा सक्रिय दरारमा शक्ति सञ्चय भइरहेकाले नेपालमा विगतझैँ विनाशकारी भूकम्प जाने सम्भावनालाई नकार्न सकिँदैन।’

२२ कात्तिकको डोटी भूकम्पपछि मात्र नेपालमा एक हजार ८२ पराकम्प गएका छन्, तीमध्ये धेरैजसो सुदूरपश्चिम केन्द्रित छन्। डोटी भूकम्प २९ वैशाख ०७२ मा सिन्धुपाल्चोकमा गएको ७.२ म्याग्निच्युडको भूकम्पपछिकै ठूलो हो। त्यसअघि नेपालमा १२ वैशाख ०७२ मा गोरखा केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युटको भूकम्प ८० वर्षयताकै ठूलो विपत्ति थियो, जसमा परी आठ हजार नौ सय ७० जनाले ज्यान गुमाएका थिए।

गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पराकम्प अझै गइरहेकाले डोटी भूकम्पको प्रभाव पनि कति लामो समयसम्म रहन्छ भनेर यकिन हुन नसकेको शर्मा बताउँछन्। गोरखा भूकम्पपछि ५६ हजार परकम्प गइसकेका छन् । भूकम्पबाट हुने क्षति कम गर्न भूकम्प प्रतिरोधात्मक भौतिक संरचना बनाउनुपर्ने हुन्छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.