धनगढी, १७ माघ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन् । सोमबार महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको अनुगमन गर्दै उनले सुदूरपश्चिम प्रदेशको समृद्धिका सो अभियान गाउँगाउँमा सञ्चालन हुने बताए ।
“अहिले प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन, विश्वासको मत लिएपछि हामी यो अभियानमा लाग्छौँ,” उनले भन, “सुदूरपश्चिम प्रदेशमा रहेका थुप्रै खानीहरूको उत्खनन गर्न जरुरी छ ।” उनले यहाँ रहेका प्राकृतिक एंव सांस्कृतिक सम्पदा संरक्षण, प्रवर्दनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने बताए । “विसं २०६२र६३ को आन्दोलनका बेला म आफैँ पनि यो अस्पताल व्यवस्थापन समितिको अध्यक्ष थिएँ, यहाँका सबै समस्या मैले बुझेको छु”, मुख्यमन्त्री रावलले भने, “अस्पतालमा ‘डायलायसिस’ र ‘सिटीस्क्यान’ सेवाका लागि संघीय सरकारसँग पहल गर्छु ।”
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा जनशक्ति अभावकै कारण सेवा प्रभावित हुने गरेको जनाउँदै आवश्यक जनशक्तिको व्यवस्थापन गरिदिन आग्रह गरे । “हामीसँग पर्याप्त जनशक्ति छैन, भएको जनशक्तिलाई पनि तलब खुवाउन सकिने अवस्था छैन”, उनले भने, “यहाँ चिकित्सक अभावकै कारण बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था छ, यसको अन्त्य गर्नका लागि आग्रह गर्छु ।” उनले महाकाली अस्पताललाई स्थापनाकालदेखि नै जनशक्ति अभाव रहेको जनाउँदै समस्या समाधान गर्न आग्रह गरे ।