अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० दमौरामा भोलि बुधबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान धन–धान्याञ्चल महायज्ञ हुने भएको छ । शिव मन्दिर तथा पर्यटन विकास समितिले शिव मन्दिरमा आयोजना महायज्ञ हुन लागेको हो ।
शिव मन्दिर तथा पर्यटन विकास समितिका अध्यक्ष ललित साउँदले महायज्ञको सम्पुर्ण तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए । भोलि बिहान ११ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन अघि बिहान ८ बजेदेखि कलस यात्रा निकालिने जनाएको छ ।
समितिकी उपाध्यक्ष पुष्पा लता रावलले धर्म संस्कृतिको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको बताइन् । पत्रकार सम्मेलनमा वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीले महायज्ञलाई उत्सवको रुपमा लिएको बताए । उनले महायज्ञले वडामा भएका विकृती विसंगतीको अन्त्य गर्न मदत पुग्ने बताए ।
चैत्र १ देखि चैत्र ७ गते सम्म संचालन हुने महायज्ञमा ऋषिकेश उपाध्याय मुख्य मुख्य कथावाचक रहेका छन भने प्रमोद पौडेल शास्त्री उप बाचकका रुपमा रहने आयोजकले जनाएको छ । महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको स्तरोन्नती संगै समितिको सभाहल निर्माण गरिने जनाइएको छ । महायज्ञमा दैनिक ५ देखि ७ सय जनाले कथावाचन गर्ने अपेक्षा आयोजकको छ । महायज्ञबाट २० लाख सम्म आर्थिक संकलन हुने अनुमान गरेको समितिका अध्यक्ष साउँदले बताए । रमणिय क्षेत्रमा रहेको शिव मन्दिरमा आयोजना हुन लागेको महायज्ञले यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा लिएको छ ।