कञ्चनपुर : कञ्चनपुर भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई० लाई पराजित गरी जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएकामा दुवै खेलाडीलाई नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए ।गृहनगरमा आएका बेला दुवै जनालाई पुरस्कृत गरिने उनले जानकारी दिए।
बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले युएईलाई रोमाञ्चक खेलमा डकवर्थ लुइस नियमका आधारमा नौ रनले पराजित गरेको थियो । जितसँगै नेपालले एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको छ ।