अत्तरिया : सुदूरपश्चिमको अस्थायीमुकाम धनगढीमा हुने विश्व नेपाली नारी साहित्य महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हुने भएको छ । यहि चैत्र १० देखि १३ गते सम्म हुने महोत्सको सम्पूर्ण तयारी पुरा भएको आयोजक सुदूरपश्चिम साहित्य समाजले जानकारी दिएको छ । साहित्य समाजले यसअघि धनगढीमा २०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र २०७८ सालमा नेपाली साहित्य महात्ेसको आयोजना गरिसकेको छ ।
साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमार लगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने बुधबार धनगढीमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए । ‘धनगढी साहित्य शहरका रुपमा स्थापित भइसकेको छ’ अध्यक्ष पाण्डेयले भने । ‘हामीले नेपालमै पहिलो पटक धनगढीमा तीन वर्षअघि विश्व नेपाली साहित्य सम्मेलनको सफल आयोजना गरिसकेका छौ । गत वर्ष नेपाली साहित्य सम्मेलन आयोजना भएको छ । यो (विश्व नेपाली नारी साहित्य सम्मेलन) आयोजनाले धनगढीसहित सुदूरपश्चिमको भाषा, साहित्य र कलामा नयाँ उचाईं थप्ने विश्वास गरेका छौं ।’
महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री–कृष्णा बाङ्गमय पुरस्कार प्रदान गरिने हो ।
सुदूरपश्चिमको साहित्य कला विश्वव्यापी रुपमा लिन अभियान रहेको सुदूरपश्चिम साहित्स समाजका पूर्व अध्यक्ष रामलाल जोशीले बताए । ‘सुदूरपश्चिममा २०७६ देखि साहित्य महोत्सव सञ्चालन गर्दै आएका छौँ’, उनले भने । ‘यसले गर्दा सरकारलाई पनि यस प्रकारका महोत्सवको आयोजना गर्नुपर्ने रहेछ भन्ने आभास दिलाउन सफल भएका छौँ ।’
महोत्सवमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।
महोत्सव मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्यायले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यस कार्यक्रमको आयोजना गरिएको बताए । ‘यसले यहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पु¥याउने हाम्रो विश्वास छ । हामीले हाम्रा अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाँकी र कला, संस्कृति देखाउने छौं । यसले हाम्रो संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारहरूले बुझ्ने अवसर पाउनु हुनेछ,’ उनले भने ।
महोत्सवमा प्यानल डिस्कर्षनमा कला, संस्कृति, राजनीतिक परिवेसलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने छ । महोत्सव आयोजनाका लागि ५० लाख भन्दा बढी रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु