निङ्गलाशैनी भगवती मन्दिरमा साढे ७ सय पशु बली

बैतडी, १५ चैत : बैतडीको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा सम्पन्न भएको छ । चैते दशैँमा लागेको जात्रा सम्पन्न भएको हो । बुधबार देखि सुरु भएको जात्रा चैतेदशैंका दिन बुधबार राँगा र बोकाको बलिसहित समापन भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।
जात्रामा २ सय ५० राँगा र ५ सय बोकाको बली दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलीसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।
निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलीसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ । यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.