नयाँ मन्त्रीको शपथ ४ बजे : रक्षामा पूर्णबहादुर, गृहमा नारायणकाजी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा मन्त्रालय संख्या भागबन्डा टुंगिएसँगै प्रधानमन्त्रीले बिहीबार दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। स्रोतका अनुसार बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको आयोजना गरिएको छ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालयको नेतृत्व गर्ने भएको छ। उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी पूर्णबहादुर खड्काले पाउने भएका छन्। कांग्रेसले खड्काकै नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउन लागेको हो। त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महत बन्ने भएका छन्। परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन।

कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ। त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ। उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले नेपालखबरसँग दाबी गरेको छ।

श्रेष्ठले सम्हाल्दै आएको भौतिक मन्त्रालयको नेतृत्व भने एकीकृत समाजवादीका प्रकाश ज्वालालाई दिने तयारी भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा वेदुराम भुसाल नियुक्त हुँदैछन्। ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ। २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जनता समाजवादी पार्टी ९जसपा०ले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.