अत्तरिया : दुर्घटना न्यूनीकरणका लागि कैलालीमा ट्राफिक प्रहरीले सक्रियाता बढाएको छ । पछिल्ला दिन कैलालीमा ट्राफिक नियम उल्लंघन र सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको हो ।
अन्य जिल्लाको हकमा कैलालीमा सडक दुर्घटना बढेकोले सक्रियता बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताए । जोहारीका अनुसार हाल कैलालीमा सवारी नियम उल्लंघन गर्नेहरुलाई ट्राफिक नियमको कक्षा समेत सञ्चालन गरिएको छ ।
‘पछिल्लो केही समययता कैलालीमा सवारी दुर्घटनाको केस बढेको पाइएको छ । जसमध्ये अधिकांश दुर्घटनाको कारण ट्राफिक नियम उल्लंघन नै रहेको पाएका छौँ’, उनले भने, ‘त्यसैले अहिले जिल्लाभर हाम्रो सक्रियता बढेको छ । नियम उल्लंघन गर्नेलाई १ घण्टाको कक्षासमेत दिने गरेका छा्रैँ ।’ ट्राफिक नियम उल्लंघनको कक्षा सञ्चालन गरेदेखि सवारी चालकमा सवारी नियमबारे चेतना फैलिएको प्रहरी निरिक्षक जोहारीको भनाई छ ।
प्रहरी निरीक्षक जोहारीका अनुसार तिव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र लेन अनुशासन नमान्नेलाई शुक्रबार–शुक्रबार १ घण्टे कक्षा सञ्चालन गरिएको छ । अन्य ट्राफिक नियम उल्लंघन गरेमा ‘अन द स्पट’ पाँच सय रुपैयाँ देखि १५ सय रुपैयाँसम्म जरिवाना गरिने इन्सपेक्टर जोहारीले बताएका छन् । यस्तै उनले धनगढीको ट्राफिक व्यवस्थापनको मुख्य चुनौति अटोरिक्सा भएको बताए ।