गेटामा विश्वविद्यालयको सञ्चालनमा अवरोध नगर्न संघर्ष समितिको चेतावनी, माग पूरा नभए सडक संघर्ष गर्ने

धनगढी  : कैलालीको गेटामा स्थापना भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सञ्चालन प्रक्रियालाई प्रभावित पार्ने गतिविधि बन्द गर्न माग गर्दै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत संघर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालय सञ्चालनका क्रममा विभिन्न पक्षबाट विवाद सिर्जना गर्ने, अनावश्यक अन्योल फैलाउने र शैक्षिक कार्यक्रमलाई प्रभावित पार्ने गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको हो ।

समितिले विश्वविद्यालय सुदूरपश्चिम प्रदेशका जनताको दशकौँ लामो संघर्ष, त्याग, तपस्या र बलिदानको प्रतिफल भएको उल्लेख गर्दै यसको स्थापना केवल शैक्षिक संस्था निर्माणमा सीमित नभई प्रदेशको स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, रोजगारी, व्यवसाय र समग्र विकाससँग जोडिएको ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा गुणस्तरीय स्वास्थ्य सेवाका पक्षमा उठाइने जायज आवाजप्रति आफूहरूको समर्थन रहे पनि सुधारका नाममा विश्वविद्यालयको भविष्य अन्योलमा पार्ने गतिविधि स्वीकार्य नहुने समितिको भनाइ छ ।

प्रा. डा. गोविन्द केसीले सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहसहित आन्दोलन गर्ने चेतावनी दिएको विषयमा पनि समितिले आपत्ति जनाएको छ । सहमति कार्यान्वयन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै समितिले सरकारलाई जवाफदेही बनाउनुपर्ने तर त्यसका नाममा गेटा विश्वविद्यालयको शैक्षिक भविष्य र सञ्चालन प्रक्रियालाई अनिश्चित बनाउने दबाब स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

समितिले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति र कानुनी मापदण्ड पूरा गर्नुपर्ने विषयमा कुनै सम्झौता हुन नहुने जनाएको छ । तर मापदण्ड पूरा गर्ने नाममा विश्वविद्यालय सञ्चालन नै रोक्ने, विद्यार्थीको भविष्य अन्योलमा पार्ने र सुदूरपश्चिमलाई पुनः शैक्षिक अवसरबाट वञ्चित गर्ने अवस्था सिर्जना भए सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

संघर्ष समितिले सरकारसमक्ष दुईवटा प्रमुख माग अघि सारेको छ । पहिलो, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन संशोधन, एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको सिट निर्धारण प्रक्रिया, पदाधिकारी नियुक्ति तथा बर्खास्तीजस्ता विषयमा पटक–पटक विवाद सिर्जना गरी विश्वविद्यालयलाई अन्योलमा पार्ने कार्य बन्द गर्नुपर्ने माग गरेको छ ।

दोस्रो, विश्वविद्यालयमा सुदूरपश्चिम प्रदेश तथा स्थानीय पालिकाका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट, शैक्षिक कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति र रोजगारीमा प्राथमिकता दिनुपर्ने माग गरेको छ ।

समितिले गेटा विश्वविद्यालय सुदूरपश्चिमका जनताले कसैको दया वा कृपाबाट प्राप्त गरेको उपलब्धि नभई लामो संघर्ष र अधिकारको परिणाम भएको उल्लेख गरेको छ । विश्वविद्यालयको सञ्चालन प्रक्रिया अवरुद्ध गर्ने तथा जनताको आशामाथि कुठाराघात गर्ने गतिविधि भए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्रमा संघर्ष समितिका संयोजक लोक राज पाण्डेय ‘आगो’, सहसंयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्म सिंह कुँवरले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.