दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुस्थित भोलिनमा गएको हिम पहिरोमा हराएका ७ जना सम्पर्कमा आएका छन्। हिमपहिरोमा १२ जनाको समूहमा रहेका उनीहरु सबै परेका थिए। ७ जना सम्पर्कमा आएकोमा ५ जना अझैँ हराइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताएको छ । चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन्। उनीहरु सबैको परिचय खुलेको छैन।
उनीहरु मध्ये डोटीको जोरायल गाउँपालिकाको बुडका तीन महिला तथा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ पोख्सेका एक महिला र एक पुरुष रहेका छन्। ब्याँसमा अहिले पनि वर्षा र हिमपात जारी छ। उद्धारका लागि हेलिकोप्टर पठाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका थिए।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको बताइन। यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किनेक्रममा हिमपहिरोमा परेका थिए। सुरक्षाकर्मीहरु दुई,तीन घण्टा लगाएर त्यहा पुगेका हुन। टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाने गरेका छन्।