अत्तरिया : यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशैभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने जनाएको हो।
मौसमविद् सुदर्शन हुमागाईँले कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेस प्रदेशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए।
यद्यपी सरदर भन्दा कम वर्षा हुने सम्भावना स्थान विशेष फरक रहेको छ। कर्णाली प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका धेरैजसो भू–भाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भू–भाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। गत वर्ष बर्खामा भने १३३५।८ मिलिमिटर पानी परेको थियो। तर, मनसुन लम्बिएर दसैँताका देशभर पानी पर्दा धानबालीमा क्षति पुर्याएको थियो। नेपालमा १३ जुनदेखि २ अक्टुबरसम्मको अवधिलाई मनसुन भनिन्छ।