अत्तरिया : गोदावरी सामुदायिक वनमा भवन निर्माण गर्ने कदमबाट कांग्रेस कैलाली पछि हटेको छ । गोदावरी नगरपालिका– १ स्थित सुरक्षा महिला सामुदायिक वन क्षेत्रभित्र पार्टी कार्यालय भवन निर्माणका लागि शिलान्यास गरेर प्रक्रिया अगाडि बढाएकामा चौतर्फी विरोध र आलोचना भएपछि पछि हटेको हो ।
सामुदायिक वनमा सुकुमबासीका हटरा भत्काए पनि पार्टीको भवन निर्माण गर्न दिइएको भन्दै चौतर्फी विरोध र आलोचना भएपछि सब–डिभिजन वन कार्यालय गोदावरीको निर्देशनमा भवन निर्माणको काम रोकिएको हो । कांग्रेस क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकायाले वनछेउको खाली जमिनमा १५ लाख लागतमा बिपी स्मृति भवन बनाउन लाग्दा विपक्षीले राजनीतीकरण गरेको आरोप लगाए । ‘बिपी स्मृति भवन, मनमोहन स्मृति भवन, मदन स्मृति भवन अन्यत्र पनि बनेका छन् । यहाँ राजनीतीकरण गर्न खोजियो,’ रोकायाले भने, ‘हामी नियम–कानुन मान्ने पार्टी हो । विरोध आयो, भवन निर्माणको काम रोकेका छौँ।’
कैलाली ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरले वनको क्षेत्रभित्र बन्न लागेको बिपी स्मृति भवनको गत बुधबार शिलान्यास गरेका थिए । स्थानीय प्रशासन र गोदावरी नगरपालिकाको सहयोगमा डिभिजन वन कार्यालय धनगढीले गत सोमबार मात्रै गोदावरी– ३ वन क्षेत्रमा भूमिहीन र सुकुमबासीका नाममा बनाइएका साढे चार सय टहरा डोजर लगाएर भत्काएको थियो । सुकुमबासीका टहरा भत्काउने, तर पार्टीका नाममा वनभित्र पक्की संरचना बनाउन थालिएको भन्दै विरोध भएपछि सब–डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रभित्र भवन निर्माणको काम रोक्न सामुदायिक वनलाई निर्देशन दिएको थियो ।
वन क्षेत्रमा भवन निर्माणको काम रोक्न लगाइएको सब–डिभिजन प्रमुख नीराजन कडालले बताए ।