अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँको समैजी माध्यमिक विद्यालयको उत्तरपट्टि छ, उर्मिला पोल्ट्री फार्म । यसका सञ्चालक हुन् धनञ्जय चौधरी । परिवारको आर्थिक अवस्था कमजोर थियो । कक्षा ९ सम्म जसोतसो पढे उनले । त्यसपछि बुबा बनवारीलाल चौधरी छोरालाई पढाउन नसक्ने भए ।
‘बुबाले अब पढाउन सकिँदैन, मजदुरी गरेर घरपरिवारलाई हेर्नुपर्छ भन्नुभयो,’ धनञ्जयले सम्झिए । जेठो सन्तान भएकाले बुबापछि घरको जिम्मेवारी उनकै काँधमा आयो ।
तर धनञ्जयलाई मजदुरी गर्नु थिएन । उनलाई पढाइसँगै गर्न सकिने कुनै काम गर्नु थियो । त्यसैले मजदुरीको साटो कुखुरापालन रोजे । परिवारसामु सो प्रस्ताव राखे । घरपरिवारले कुखुरापालन गर्ने मञ्जुरी त दियो तर आर्थिक अवस्था तगारो बनिदियो । ऋण लिएरै पनि व्यवसाय सुरु गर्ने हुटहुटी पलाएपछि अन्ततः चौधरीले आफन्तबाट ३६ हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरे ।
बाँसको फार्मभित्र ब्वाइलरका दुई सय चल्लाबाट व्यवसाय सुरु गरे । मेहनत गरेपछि सोचेजस्तै सफलता मिल्दै गयो । फार्मको आकार पनि बढ्दै गयो । कामसँगै पढाइ पनि निरन्तर अगाडि बढिरह्यो । बिहान कुखुरालाई दानापानी दिएर स्कुल जान्थे, धनञ्जय । उनी पढ्न जाँदा बुबाले फार्म हेर्थे ।
घामपानी, दिनरात नभई फार्ममा काम गरे। समयसँगै आर्थिक उन्नति गर्दै गए । अहिले त्यसै फार्ममा छ हजार लेयर्स जातको कुखुरासँगै अण्डा उत्पादन गरिरहेका छन् । आफूसँगै परिवारलाई पनि त्यस काममा जोडेका छन् । तीनजनालाई रोजगारीसमेत दिएका छन् । पोल्ट्री व्यवसाय गर्दै जाँदा उनले आवश्यकता ठानेर १२ कक्षाको पढाइपछि १८ महिने भेटनरी जेटीएसमेत पूरा गरे ।
व्यावसायिक रूपमै कुखुरापालन गर्ने उद्देश्यले २०७५ सालमा बैंकबाट ५० लाख रुपैयाँ ऋण लिए । फार्मलाई व्यवस्थित बनाए । नियमित बैंकको ब्याज तिर्दै काम गरिरहेका छन् । बजारमा अण्डा र कुखुरा पु¥याउन बोलेरो जिप पनि खरिद गरेका छन् ।
सुरुका चार वर्ष ब्वाइलर कुखुरा पालेका उनी अहिले अण्डा र मासुका लागि लेयर्स जातको कुखुरा पाल्दै आएका छन् । ब्वाइलर कुखुरा ४५ दिनमा नै बेच्न उपयुक्त हुन्छ भने लेयर्स जातको कुखुरा छ महिनासम्म पाल्नुपर्छ । त्यसपछि मात्रै अण्डा उत्पादन सुरु गर्छ । १८ महिनासम्म अण्डा उत्पादन हुन्छ । छ हजार कुखुराबाट दैनिक ५ हजार ५ सय अण्डा उत्पादन हुन्छ । धनञ्जयको फार्मको बजार कैलाली हो । धनगढी, सुखड, मसुरिया, टीकापुरसम्म उनले उत्पादन पु¥याउँदै आएका छन् ।
२०७० सालमा उनले बंगुरपालन पनि गरेका थिए । तर त्यसबाट ठूलो नोक्सानी बेहोरे । ‘राति कसैले २९ वटा बंगुरलाई विष खुवाइदिएपछि १६ देखि २० लाख रुपैयाँसम्मको नोक्सानी बेहोरे,’ उनले सुनाए । मेहनत गरेर आज यहाँसम्म आइपुगेकोमा खुसी छन, धनञ्जय । ‘जागिरका लागि कसैको अगाडि हात फैलाउन परेन,’ उनले भने, ‘मेहनत गरेर यहाँसम्म आइपुगेको हुँ । अरूलाई समेत जागिर दिएको छु ।’
कसैबाट अनुदान पनि नलिएको उनी बताउँछन् । ‘आफैँ कमाइ गर्छु अर्काको भर परेको छैन,’ उनले भने, ‘झोलामा फारम बोकेर हिँड्नेले सरकारी अनुदान पाउँछन् । हामीजस्ता कृषकको त्यो निकायसम्म धाउने फुर्सद नै हुँदैन ।’ व्यवसाय गरेको १० वर्षसम्म बजारबाट कुखुराका लागि आवश्यक दाना ल्याउँथे । अहिले ‘मिसन एन्ड सार्थक दाना उद्योग’ स्थापना गरी आफ्नो फार्मलाई चाहिने आवश्यक दानासमेत आफैँ उत्पादन गर्छन् । ‘बजारको भन्दा कम लागतमै दाना उत्पादन हुन्छ र गुणस्तरीयसमेत हुन्छ,’ उनले भने । फार्ममा धनञ्जयले पढेको कलेजबाट विद्यार्थी आउने गरेका छन् । उनले विद्यार्थीहरू प्रशिक्षणसमेत दिने गरेका छन् ।
सम्बन्धित पाेस्टहरु